लुदस, कपिलबस्तु ।
लक्ष्मणघाट सामाजिक विकास केन्द्रको सातौँ साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ। लक्ष्मणघाट बोलबम धाम विकास समितिको सभा हलमा आयोजित अधिवेशनबाट सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवगठित कार्य समितिको उपाध्यक्षमा अन्जित खनाल, सचिवमा दिनेश चौधरी, सहसचिवमा विरेन्द्र रेग्मी र कोषाध्यक्षमा मिना आले काउचा चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा सिता थारु, मदन शर्मा, विनोद खनाल, विनोद रञ्जन, हुम बहादुर घर्ती मगर र कमल पौडेल चयन हुनुभएको छ।
कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले संस्थाको उन्नति, प्रगति र यस क्षेत्रको समग्र विकासका लागि नगरपालिकाबाट निरन्तर सहयोग रहने बताउनुभयो। उहाँले आगामी दिनमा पनि सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै योजनाबद्ध ढंगले काम गर्दै संस्थाको आर्थिक पक्षलाई मजबुत बनाउन सुझाव दिनुभयो।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष करुण टण्डनले संस्थाले स्थानीयस्तरमा रोजगारी सिर्जना हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वडाबाट सम्भव हुने सबैखाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष थानेश्वर अधिकारीले संस्थाको दीर्घकालीन विकास र प्रगतिका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। साथै सचिव सरिता थारुले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिनेश चौधरीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।
लक्ष्मणघाट सामाजिक विकास केन्द्रले स्थापनाकालदेखि नै यस क्षेत्रको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा निरन्तर योगदान दिँदै आएको छ। संस्थाले जिल्लामै पहिलो पटक भजन प्रतियोगिता, दुनाटपरी गाँस्ने प्रतियोगिता आयोजना गर्नुका साथै लक्ष्मणघाट पूर्णिमा मेलामा आयोजक तथा सहआयोजकको भूमिका निर्वाह गर्दै आएको छ। साथै स्थानीय तहसँग समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले आगामी दिनमा अझ प्रभावकारी सामाजिक विकासका कार्यक्रम अघि बढाउने नव निर्वाचित अध्यक्ष सरिता थारुले प्रतिबद्धता जनाउनुभयो ।





















