१८ जेठ,
भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको केही विदेशी खोपलाई स्थानीयरुपमा परीक्षण अनिवार्य नहुने नियम ल्याएको छ । यससँगै अब फाइजर र मोडेर्नाजस्ता कम्पनीको खोप भारत ल्याउने बाटो खुला भएको छ । भारतमा देखिएको कोरोना संक्रमणको दोस्रो लहरसँगै भारतभर खोप कार्यक्रमलाई पनि तीव्र गतिमा बढाउन दबाब बढिरहेको अवस्थामा त्यहाँको सरकारले यस्तो निर्णय गरेको हो । भारत सरकारलेसार्वजनिक गरेको विज्ञप्तिमा कोरोना खोप अभियानलाई गति दिन विश्वको सबैभन्दा राम्रो खोपको प्रयोग गरिने उल्लेख छ । विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा अहिलेसम्म करिब ३ प्रतिशत जनसंख्याले मात्र पूरा डोज कोरोना खोप लगाएका छन् । यो संख्या विश्वका सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएका १० मुलुकमा सबैभन्दा कम हो । यसअघि सरकारले कुनै पनि विदेशी खोपको परीक्षण स्थानीयरुपमा नभएसम्म त्यसलाई मान्यता दिन नसकिने बताएको थियो ।




















