नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भइ मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आउँदो महासभाबाट पारित गर्ने तयारी रहेको छ । त्यस प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले आउँदो महासभामा पेस गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ । यस पटकको राष्ट्रसङ्घको महासभा सेप्टेम्बर महिनामा बस्दैछ । न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख अमृत राईका अनुसार संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को भर्खरै न्युयोर्कमा सम्पन्न बैठकले समेत नेपाललाई कम आय भएको देशबाट मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्न नेपाल सक्षम भएको सिफारिस गर्दै आउँदो महासभामा अनुमोदनका लागि पेस गर्न लागेको छ ।



















