हरि आचार्य, कपिलवस्तु
गत २४ गते राति मोटरसाइकल दुर्घट्नामा परि गम्भिर घाईते भएका राष्ट्रिय युवासंघ नेपाल कपिलवस्तुका सदस्य तथा बाणगंगा नगर ईन्चार्ज रमेश केसीको निधन भएको छ । बाणगंगा ९ निवासी केसी २४ गते राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको बैठक सकेर चारनम्बरबाट घर फर्कने क्रममा बाणगंगाको पुल नजिकै गाई संग मोटरसाइकल ठोक्किदा गम्भिर घाइते हुनुभएको थियो ।
कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचार पछि भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ ।
छाडा चौपायाका कारण भएका सवारी दुर्घट्नाले धेरै जनाको ज्यान गईसक्दा समेत स्थानीय तहले छाडा चौपाया ब्यबस्थापनमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
यसैबिच केसीको असामयिक निधन प्रति राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले श्रद्धान्जली व्यक्त गरेको छ । जिल्ला अध्यक्ष कमल क्षेत्रीले स्व.केसीको निधनले संगठन अत्यन्तै दुखी एवं मर्माहत भएको र यस शोकको घडीमा दिवंगत केसी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्जनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले पार्टी र संगठन प्रति गरेको त्याग र संघर्षलाई सदैव मार्गदर्शन बनाएर अगाडि बढ्ने बताउदै केसीको आवश्यकता सधै खड्किरहने बताउनुभयो ।
त्यस्तै नेकपा (एमाले) का नेताहरुले पनि जुझारु युवा नेता केसीको निधनले ठुलो क्षति भएको भन्दै परिवारप्रति गहिरो समबेदना प्रकट गरेका छन् ।




















