लुदस, कपिलवस्तु
बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आगामी आर्थिक वर्षका लागि २४ कराेड १८ लाख ३३ हजार ८ सय २१ रुपैयाँ बराबरको अनुमानित लक्ष्य प्रस्तुत गरेको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिति संयोजक तेजप्रसाद आचार्यले सहकारीले शेयर सदस्यलाई ८ प्रतिशत लाभांश प्रदान गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले दर्शन सहकारी यस क्षेत्रकै उत्कृष्ट सहकारी रहेको दाबी गर्दै सदस्यहरूलाई ढुक्क भएर बचत गर्न आग्रह गर्नुभयो।
सभामा संस्थाका जिल्ला तथा केन्द्रीय प्रतिनिधि राजेन्द्र विक्रम शाह, सल्लाहकार झलक मल्ल ठकुरी र निवर्तमान अध्यक्ष कृष्णबहादुर शाही लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
संस्थाकी अध्यक्ष कमला सेन ९सुष्मा खाँण०ले सहकारीका आगामी कार्ययोजना, चुनौती र जिम्मेवारीप्रति संस्था सचेत रहेको बताउनुभयो। उहाँले सहकारीको संस्थागत विकाससँगै शेयर सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सचिव देवेन्द्र विक्रम मल्लले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मीना कुमारी सेनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष निर्मल शाहीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमले संस्थाको वार्षिक गतिविधि तथा आर्थिक अवस्थाबारे जानकारी गराएको थियो।
साधारण सभाको अवसरमा २२ जना ज्येष्ठ शेयर सदस्य, पाँच जना असल ऋणी र पाँच जना असल बचतकर्तालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। सदस्यहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ।





















