त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी बनाइएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई अब आफू अध्ययन गरेको क्याम्पसमा आएर परीक्षा दिनुपर्ने बाध्यता नरहेको बताउँदै परीक्षा केन्द्र परिवर्तन गरेर पायक पर्ने स्थानबाट परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिनभयो । १९ महिनाभन्दा बढी समयदेखि एउटै वर्षमा अध्ययन गर्न बाध्य स्नातक प्रथम वर्षका विद्यार्थीको परीक्षा साउनभित्रै लिने तयारीअनुसार नै विश्वविद्यालयले परीक्षामा यस खालको मोडालिटी बनाएको हो ।




















