कपिलवस्तु
नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा–४ ठाकुरापुरमा बृहत् देउसीभैलो मेला एवं सांस्कृतिक साँझ–२०८३ आयोजना हुने भएको छ ।
नवप्रभात युवा क्लब बाणगंगा–४ ठाकुरापुरको आयोजनामा आगामी कार्तिक २९ गते आइतबार बाणगंगा माध्यमिक विद्यालयको प्राङ्गणमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरी गायिका इपशल सन्ज्याल र राष्ट्रिय लोकदोहोरी गायक श्याम रानाको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । यस्तै, स्थानीय कलाकारहरूको समेत विविध सांस्कृतिक प्रस्तुति रहनेछ ।
नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको महत्त्व उजागर गर्नुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा स्थानीयवासी, युवायुवती, कला तथा संस्कृतिप्रेमी र शुभेच्छुकहरूको सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।
नवप्रभात युवा क्लबले सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई देउसीभैलो तथा सांस्कृतिक साँझलाई भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।




















