
नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पुस्तक छपाएर देशभर बिक्री वितरणको काम सुरु गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन एक अहिना अघि नै जेठ मसान्तसम्ममा पुस्तक वितरणको काम सक्नुपर्ने भएकाले जनक शिक्षाले वितरणको कामलाई तीव्रता दिएको हो । आउँदो वर्षको नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले कक्षा एकदेखि १० कक्षासम्मका एक करोड ७० लाख थान पुस्तक छापेको छ । लिमिटेडले गएको सोमबारदेखि नै देशभर रहेका आठवटा प्रादेशिक कार्यालयबाट ती पुस्तक बिक्री वितरणको काम थालेको जनक शिक्षा सामाग्री लिमिटेडका निर्देशक अनिलकुमार झाले बताउनुभयो । अहिले विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीमा रहेको प्रादेशिक कार्यालयबाट वितरण भइरहेको छ । कोरोना महामारीले देशभर सहजै रुपमा पुस्तक पठाउन र वितरण गर्न भने केही समस्या भएको तर सरकारले तोकेकै समयमा विद्यालयमा पुस्तक पुर्याइने निर्देशक झाले बताउनुभयो ।

