लमजुङको दोर्दीखोलामा बाढी आउँदा दोर्दी गाउँपालिका–८ हिलेबजार क्षेत्रका १४ घर बगाएको छ । स्थानीय क्षितिज लामाका अनुसार दोर्दीखोलामा मंगलबार साँझदेखि रातभरि खोलाले बजारका घरहरू बगाएको थियो ।
एक्कासी बाढीले घरहरु भत्काउन थालेपछि घरका सामान निकाल्न नसकिएको उनले बताए । बाढीको जोखिम रहेका घरमा भने सामान उठाउन लागिएको उनले बताए । १ सय २० घर रहेको उक्त क्षेत्र नै बाढीको उच्च जोखिममा छ ।
दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार घर बगाएका र उच्च जोखिममा रहेकालाई फलेनी माविको भवनमा राखिएको छ । बाढीले बिजुलीको पोल बगाउँदा विद्युत अवरुद्ध भएको छ । खेलमैदान र किसानका कुखुराको खोर पनि बगाएको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका स्थानीयको उद्धारमा प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको बताए । सदरमुकाम बेसीशहरबाट करिब २५ किलोमिटर दुरीमा पर्ने हिलेबजार जाने कच्ची बाटो पहिरोले भत्किएको लुइँटेलले बताए । बाढीले घरहरूमा क्षेति भए पनि मानवीय क्षति भने भएको छैन ।