लुम्बिनी प्रदेशका तराईका बस्ती डुबानमा, पहाडका सडक अवरुद्ध

[sharethis-inline-buttons]

तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएर हिजो बिहानदेखि यातायात अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गमा अझैसम्म यातायात सञ्चालनमा आउन सकेको छैन । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बर विकले सिद्धार्थ राजमार्ग र पहाडी जिल्ला सदरमुकाम जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध भएको बताए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ । वर्षाका कारण पाल्पा–रिडी, पाल्पा–राम्दी, पाल्पा–आर्यभञ्जाङसहित गाउँ जोड्ने सडक अवरुद्ध भएको छ । यस्तै, गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्धिखर्क–३, फुदबाङमा पहिरो गएको छ । प्युठान–भालुवाङ सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ । गुल्मी–रिडी–तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध छ । तिनाउमा नदीमा आएको बाढीले बुटवलमा ११ घर विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले तिनाउको बाढी बस्तीमै पसेपछि बुटवल–११ पवित्रानगरका ११ परिवारलाई अन्यत्र सारिएको बताए । पाल्पाको तिनाउ गाउँपालिकामा पनि केही परिवार विस्थापित भएकोे स्थानीय विष्णु पाण्डेले बताए । त्यस्तै दाङ देउखुरीको राप्ती नदीमा फसेका चार जनालाई उद्धार गरिएको छ । हिजोदेखि फसेका उनीहरुलाई विपत ब्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले आज उद्धार गरेको हो ।


प्रकाशित : २०७८ असार २, बुधबार ११:५०