पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी देशभरमा १६ जनाको मृत्यु

[sharethis-inline-buttons]

पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । प्रकोपमा परेर २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन÷तीन तथा सप्तरी, काभ्रे, गोरखा, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान जुम्ला र बाजुरामा एक÷एक जना रहेका गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् । बेपत्ता भएका २२ मध्ये २० जना सिन्धुपाल्चोकमा छन् । बाजुरा र रूपन्देहीमा एक÷एक जना बेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरीले जनाएको छ । यस्तै यार्सागुम्बा टिप्न गएका मनाङका ७० जनाको पनि उद्धार भएको छ । पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । यता बाढी पहिराका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ । १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ ।


प्रकाशित : २०७८ असार ५, शनिबार १२:००