
पर्वतको कुश्मा नगरपालिका–८ मा सुन्दरे खोलामा आएको बाढीले गाडी बगाउँदा तीन जना बेपत्ता भएका छन् । खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा रहेका तीन जना बेपत्ता भएका नगरपालिकाका मेयर रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कन्स्ट्रक्सनका साइट इञ्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारुसहित अर्का एक जना बाढीमा हराएका छन् । बाढीमा बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको छ । यस्तै, बाढीमा एउटा स्कुटर पनि बगाएको छ । गएराति पर्वतसहित गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । आज पनि यो प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।