
साउन ८ बुटवल
छात्राहरुलाई अध्ययनमा रुचि जगाउन र विद्यालयमै टिकाउन रुपन्देहीको गैडहवा गाउँपालिकाले प्रोत्साहन स्वरुप ५१ जना छात्रालाई साईकल वितरण गरेको छ । गैडहवा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत् कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ५१ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । ८ कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने गाउँपालिका भरिका १७ वटा सामुदायिक विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीलाई साईकल वितरण गरिएको गैडहवा गाउँपालिकाका अध्यक्ष बछुलाल केवटले जानकारी दिए । ग्रामीण क्षेत्रमा कतिपय छात्राहरु घरमा अभिभावकलाई सघाउने र त्यसपछि पैदल विद्यालय जाने गरेका कारण समयमै विद्यालय पुग्न नसकेको अवश्था रहेको बताउँदै उनले बितरित साईकलले थोरै भए पनि समस्या समाधान गर्ने बताए । अघिल्ला वर्षदेखी नै यो योजना ल्याउन खोजे पनि केही कठिनाईका कारण वितरण गर्न नसकेको उनले जनाए । साईकल पाएपछि छात्राहरुले पनि अब आफ्नो दैनिकी केही सहज हुने बताएका छन् ।

