दार्चुला , भदौँ, १०
दार्चुलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध भएको छ । एक साताअघि महाकाली नगरपालिका–९ बेतस्थित चुनेभिरमा सडक भासिएपछि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।दुई दिनदेखि सडकमाथिबाट ढुंगा माटो खस्दा पूर्ण रूपमा सडक अवरुद्ध भएको हो ।
दत्तुको चुन्याभिरमा सडक पहिरोले बगाउँदा बस, ट्रकलगायतका ठूला सवारी साधानहरू सदरमुकाम खलंगाबाट बाहिर जान तथा भित्रिन सकिरहेका छैनन् । पहिरोले सडक साँघुरो बनाएकाले सुरुका दिनहरूमा जीपलगायत साना सवारी साधनहरू चलिरहेका थिए । तर सडक चौडा बनाउन भीर काट्न थालिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको दार्चुला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए ।
सडक भासिएपछि भीर काटेर सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ । कडा चट्टानी भूभाग रहेकाले उक्त स्थानमा भीर काट्न अझै केही समय लाग्ने देखिन्छ । जिलेटिन अभावमा एउटा एस्क्काइभेटर मेसिनको ब्रेकर प्रयोग गरेर भीर फुटाउने काम भइरहेको छ । अवरुद्ध रहेको सडकलाई अहिले खुलाउने प्रयास भइरहेको डीएसपी भट्टले जानकारी दिए । कतिपय यात्रु सडक भासिएको ठाउँबाट पैदल हिँडेर वारपार गर्नुपर्ने अवस्था छ । अहिले यात्रुहरू बेतसम्म दार्चुलाबाट गाडीमा गइरहेका छन् ।
सडक निर्माणको काम भइरहेको चुने भीरबाट पैदल हिँडेर पारिबाट सवारीसाधन बदल्दै यात्रा गरिरहेका छन् । चुने भीरमा सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने निर्माण व्यवसायी नरेन्द्रसिंह धामीले बताए । हिँड्नसमेत विकल्प नहुँदा समस्या भएको छ ।