
बालबालिकाको आपत्कालीन उद्धार, राहत, संरक्षण तथा परामर्श सेवाको लागि आज बाल हेल्पलाइन नेपाल १०९८ (दश नौ आठ) को शुभारम्भ गरिएको छ । सिविन नेपालले सञ्चालनमा ल्याएको बाल हेल्पलाइनको प्रदेश सरकारका माननीय कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले तिलोत्तमामा शुभारम्भ गर्नुभएको हो । यस क्षेत्रमा सेवा दिनेगरी तिलोत्तमा नगरपालिकाको मणिग्राममा बाल हेल्पलाइन नेपालको कार्यालय सञ्चालनमा आएको छ । जुनकुनै ठाउँका बालबालिका वा अन्यले मोबाइल अथवा टेलिफोनबाट १०९८ मा फोन गरी आफ्नो समस्याको बारेमा जानकारी गराउन सक्नेछन् । १०९८ मा फोन गर्दा पैसा लाग्दैन । हेल्पलाइनको सञ्चालनले बालबालिकाको आपत्कालीन उद्धार, राहत, संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । शुभारम्भ कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बालमैत्री नगरपालिकालाई दिगो बनाउन हेल्पलाइनले महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो । ५१ वटा सूचक पूरा गर्दै तिलोत्तमा नगरपालिका गत मंसिर २९ गते बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा भएको थियो । हेल्पलाइन सुभारम्भ कार्यक्रममा अन्य सरोकारवालाहरुको साथैं तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, बाल समूह सञ्जालका पदाधिकारी तथा सदस्य, विभिन्न विद्यालयका प्रअलगायतको सहभागिता रहेको थियो ।