परासी, ३ माघ ः
कर्मचारीहरुमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको छ । अधिकृतसहित २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्धारा जारी सूचनामा उल्लेख छ । कार्यालयबाट प्रदान गरिने नागरिकता, नागरिकताको प्रतिलिपि, पासपोर्ट र राष्ट्रिय परिचय पत्रका काम माघ ९ गतेसम्मका लागि बन्द गरिएको हो । प्रशासनमा दैनिक २ सय देखि ३ सय जना सेवाका लागि आउने गरेका छन् ।
यसैबीच पछिल्लो पटक कोरोना संक्रमण दर बढ््दै गएको छ । १५ दिनअघि शुन्यजस्तै रहेको जिल्लामा अहिले दैनिक १० देखि १२ जनामा पोजेटिभ देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए । अहिले सरावल र पाल्ही गाउँपालिका र स्वास्थ्य कार्यालयबाट मात्र कोरोना परीक्षण हुँदै आएकोमा अन्य स्थानबाट पनि सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए । हाल जिल्लामा ८३ जना संक्रिय संक्रमित छन् ।