बुटवल ,
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण सिर्जना गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ ।
एसईई र वार्षिक परीक्षा नजिकै आइरहेको सन्दर्भमा लामो समयको विद्यालय बन्दले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको र विद्यार्थीहरुमा नकारात्मक मनोसामाजिक असर परेको भन्दै खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमा यथाशीघ्र कक्षा सञ्चालनको व्यवस्था गर्न प्याब्सनले आग्रह गरेको हो ।
प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माद्वारा बिहीबार जारी एक विज्ञप्तिमा अन्य सबै क्षेत्र खुला रहेको भन्दै अनलाइन वा वैकल्पिक कक्षाले विद्यार्थीको शिक्षण सिकाइ त्यति प्रभावकारी नभएकोले भौतिक रुपमै आलो–पालो भए पनि विद्यार्थीलाई विद्यालय आउने–जाने वातावरण बनाउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई यथाशीघ्र खोप लगाउन र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्नसमेत माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “सबै क्षेत्र निर्वाध चलेका छन् । विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको छ । तथापि कोरोना संक्रमण दर घटेको अवस्थामा खोप लगाइसकेका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्न सम्बन्धित सबैमा आग्रह गर्दछौ । साथै, सरकारले यथाशक्य चाँडो पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि खोपको व्यवस्था गर्न र शिक्षक तथा कर्मचारीका लागि बुस्टर डोजको व्यवस्था गर्न माग गर्दछौँ । ”
रुपन्देही जिल्लाको भौगोलिक परिवेशअनुसार इन्टरनेटको उपलब्धता सर्वत्र नभएको र अभिभावकहरुसँग स्मार्ट फोन, मोवाइल, ल्याप्टप आदि पर्याप्त नभएका कारणले बैकल्पिक माध्यमबाट अनलाइन कक्षा सञ्चालनको प्रयास त्यति प्रभावकारी र उपलब्धिमूलक नदेखिएको दावीसमेत विज्ञप्तिमा गरिएको छ ।
विज्ञप्तिमा अनलाइन कक्षाका नाममा बालबालिकाहरु गेम र च्याटमा व्यस्त भएका गुनासा अभिभावकहरुबाट आइरहेको र मनोसामाजिक, मनोसांस्कृतिक हिसाबले विचलन आउन सक्ने जोखिममा भएकाले निर्वाध रुपमा विद्यालय सञ्चालन गर्नु उचित हुने उल्लेख छ ।
विद्यालय सञ्चालनको वातावरण बनाइदिन प्याब्सन रुपन्देहीको आग्रह
प्रकाशित : २०७८ माघ १३, बिहीबार १६:१७
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech