
२७ भाद्र ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकार मातहतका तथा देशभरका कर्मचारीहरुलाई डेङ्गूबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल सरकार मातहतका सम्पूर्ण कर्मचारीहरु तथा सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई डेङ्गूबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको हो ।
मन्त्रालयले दिनको समयमा, साझ, बिहान, लामखुट्टेको टोकाईबाट बच्न कार्यस्थल वरपर निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक लगाउन कर्मचारीहरुमा आग्रह गरेको छ ।
विगत केही समय यता नेपालमा डेङ्गूका बिरामी फेला पर्न थालेका छन् र संक्रमणको दर बढ्दै गईराखेको छ । यही अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो आग्र्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले डेंगुको बढ्दो प्रकोपलाई व्यवस्थापन र नियन्त्रण गर्नका लागि गतिविधीहरु प्नि सञ्चालन गरीरहेको छ । मन्त्रालयले संक्रमणको प्रकोप रोक्न चौतर्फी रुपमा समन्वय गरी लार्भा खोज नष्ट गर अभियानलाई समेत तिव्र बनाएको छ । संक्रमणका बारेमा मन्त्रालयले सन्देशमूलक सामाग्री पनि प्रशारण गरीरहेको जनाएको छ । डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग भएको र यसको समाधानको उत्कृष्ट उपाय लामखुट्टेको टोकाईबाट बच्नु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

