
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवा स्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिका लागि केही महिना अघि लिइएको परीक्षाको नतिजा हाल सम्म पनि सार्वजनिक भएको छैन । जसका कारण विद्यालयको निमावि तहको अंग्रेजी र कम्प्युटर तथा कक्षा ११ र १२ मा क्यामेस्ट्रि विषयको पठनपाठनमा बाधा पुगेको विद्यार्थीहरुको गुनासो छ । विद्यालयमा करार शिक्षक नियुक्तिको लागि लिइएको परिक्षामा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सीले चलखेल गर्न खोजेको आरोप लागेको थियो ।
उक्त विषय राजनितिक अस्थित्वको लडाइ जस्तै बन्न पुग्दा परिक्षा लिइएका उत्तर पुस्तिका प्रहरी चौकि सम्म पुगे । हाल उक्त उत्तर पुस्तिका इलाका प्रहरी कार्यालय पिपरामा कैद भएको छ । परिक्षा लिएको तीन महिना बिति सक्दा समेत नगरपालिकाले समाधान खोजेको छैन भने विद्यालयमा विषय शिक्षक नियुक्त नहुँदा पठनपाठन समेत प्रभावित भएको छ ।
गत भदौ महिनामा लिएको परिक्षामा रसायन विज्ञान (क्यामेष्ट्रि) विषय शिक्षक बन्न आवेदन दिएका परिक्षार्थी छुटेपछि उक्त विषयको सत्यतथ्य बुझ्न तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो । नगरपालिकाका सामाजिक विकास समितिका सभापति विष्णु गिरी, नगरपालिकाका कर्मचारी शान्तराज आचार्य र वडा नम्रब ६ का वडा अध्यक्ष करुण टण्डन सदस्य रहेको समिति गठन भएको थियो । सो विषयमा विद्यालय व्यवस्थापन समिति र छानविन समितिले चासो नदिएका कारण समस्याको सामाधान हुन नसकेको शिक्षा शाखा प्रमूख जि.सीले बताए । अहिले विद्यालयमा तीनवटा विषयका विषय शिक्षक छैनन् ।
छानविन समितिका संयोजक रहेका नगरपालिकाका सामाजिक विकास समितिका सभापति विष्णु गिरीसँग जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । समितिका संयोजक सँग सम्पर्क नभएपछि लुम्बिनी दर्पणकर्मीले छानविन समितिका सदस्यहरुसँग प्रतिक्रिया लिएको थियो । यस विषयमा छानविन समितिका सदस्य शान्तराज आचार्यले प्रक्रिया अगाडी बढाइएको र अबको केही दिनमा समाधान खोजिने बताए । यस विषयमा विद्यालयका प्रधानाध्यापक तनुश्री भण्डारीले भने प्रक्रिया किन अलमल भयो भन्नेमा आफू जानकार नभएको बताइन ।
छानबिन समितिका अर्का सदस्य करुण टण्डनले भने चुनावी आचारसंहिताका कारण ढिलाइ भएको र निर्वाचनका बेला कर्मचारीहरु शान्तराज आचार्य निर्वाचनमा खटिएका कारण समितिले छानविनको काम गर्न नपाएको बताए । उनले पनि अब केही दिनमा प्रतिवेदन तयार पार्ने बताएका छन् ।
शिक्षक नियुक्तिका विषयमा विवाद भएपछि परिक्षार्थीका कापी इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको थियो । प्रहरी निरिक्षक दिपकबाबु के.सीका अनुसार उक्त कापी कार्यालयमा सुरक्षित रहेको र यस विषयमा अहिले सम्म कुनै प्रक्रिया अगाडी नबढेको बताए । विद्यालयमा शिक्षक नियुक्ति समयमै गर्ननसक्दा शिक्षक बन्न परिक्षा दिएकाहरुको नतिजा प्रहरी कार्यालयमा थन्किएको छ भने विद्यालयमा पठनपाठनमा असर पुगिरहेको छ ।
लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकमा प्रकाशित

