आजदेखि देशब्यापी दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु

[sharethis-inline-buttons]

आजदेखि दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइँदैछ । सरकारले आजदेखि देशका ७५ वटा जिल्लामा खोप अभियान शुरु गर्दैछ । जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि आउँदो चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सन् २०२३ मा दादुरा–रुवेलाको संक्रमणलाई निर्मुल पार्ने प्रतिबद्धता गरिएको भए पनि कोभिड महामारीका कारण धेरै वालवालिका यो खोप छुटेकाले विभिन्न ठाउँमा दादुरा–रुवेला फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो। यस बर्ष अभियानको रुपमा नेपाल भरि ९ महिनादेखि १५ बर्ष उमेर समूहका ५७ लाख ४२ हजार ९ सय ५३ जनामा दादुरा–रुबेलाको खोप अभियान सरकारले संचालन गरेको छ ।

रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । खोप लगाउँदा सामान्य दुखाइ भए पनि अरु समस्या नहुने भएकोले ढुक्क भएर खोप लगाउन र अत्याधिक ज्वरो आएको अवस्थामा भने स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्ने डा.अभियान गौतमले बताएका छन् ।


प्रकाशित : २०८० फाल्गुन १३, आईतवार ११:३९