
सोमबार दिउँसो कर्णाली पुलमा भीडभाड थियो। होलीको रङमा रंगिएकाहरू पुलमा फोटो सेसन गर्दै थिए।
त्यसैबीच युवाको एक हुल मिसिन आइपुग्छ।
क्षणभरमै एकपछि अर्को गर्दै १७ जना युवक कर्णाली पुलबाट धमाधम नदीमा हाम फाल्छन्। सयौँ मानिस भए पनि उनीहरूलाई रोक्ने आँट कसैले गर्दैन। बरु कर्णालीमा हेलिएको दृश्य मोबाइलमा कैद गरिरहन्छन्।
कर्णाली पुलनजिकै इलाका प्रहरी कार्यालय (चिसापानी) छ। युवाहरू कर्णालीमा हेलिरहँदा प्रहरीले पनि रोक्न नसकेको भन्दै अहिले आलोचना भइरहेको छ।
२०/२५ जनाको समूहमा रहेका युवाहरू बजारमा होली खेल्दै थिए। शरीरको माथिल्लो भागको कपडा फुकालेर नांगै। निथ्रुक्क भिजेका थिए।
उनीहरूलाई पुलमा जाँदै गर्दा ड्युटीमा खटिएका प्रहरीले रोक्छन्। तर उनीहरू अटेरी गर्दै पुलतर्फ अघि बढ्छन्। साथीहरूसँग धेरैपछि भेट भएकाले सामूहिक तस्बिर खिचेर फर्किने भन्दै।
होलीमा रमाइलो गर्दै मापसेको तालमा जोसिएर उनीहरू कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेल्छन्।
त्यसरी कर्णाली पुलबाट नदीमा हाम फाल्नेमध्ये एक हुन्- कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही।
‘उनी खासै पौडी खेल्न नजान्ने रहेछन्। साथीहरूले हाम फालेको देखेर बचाइहाल्लान् भनेर उनले पनि हाम फालेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालयका एक जना प्रहरी अधिकारी भन्छन्, ‘हामीलाई हाम फालिरहेको जानकारी थिएन। डुबेको खबर आएलगत्तै खोजी थालिएको थियो। तर अहिलेसम्म अवस्था अज्ञात छ।’
होली पर्वको रमाइलोबीच १५ जना युवकले पहिले नै हाम फालिसकेका थिए। केही सेकेन्डको बीचमा १६औँ नम्बरमा अर्का युवकले हाम फाले। उनी लोकेन्द्र शाही थिए ।
अगाडि हाम फालेका युवकहरू कर्णालीमा हेलिँदै किनारतिर अघि बढिरहँदा १६औँ नम्बरमा हाम फालेका लोकेन्द्र लगत्तै डुब्न पुगे। तत्कालै किनारमा रहेका दुईवटा डुंगा खोजीमा नदीमा हेलिए । तर डुबिसकेका ती युवकलाई डुंगा चालकले भेट्टाउन सकेनन्।
मंगलबार बिहानदेखि सुरक्षाकर्मी र स्थानीयले उनको खोजी गरिरहेका छन् । शाहीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए ।
सशस्त्र प्रहरीको गोताखोर टोली पनि आइरहेको उनले बताए। अहिले कर्णाली नदी किनारमा सुरक्षाकर्मीले खोजी गरिरहेका छन्।
लोकेन्द्रपछि अन्तिममा हाम फालेका युवक पनि पौडिएर निस्किन सफल भए। उनीसमेत हाम फालेर निस्किएका १६ जनालाई सम्पर्कमा ल्याइँदै छ। एक जना प्रहरीको सम्पर्कमा आइसकेका छन्।

