कपिलवस्तुको शुद्धोधन १ सहित देशभर ४४ पदमा उपनिर्वाचनको तयारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जीतपुर
आगामी मंसिर १६ गते कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ सहित देशका ४४ पदमा स्थानीय तहका उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले ४४ पदमा हुने उपनिर्वाचनका लागि तयारी तीव्र गतिमा भइरहेको जनाएको छ ।

यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि थप ५ पद रिक्त हुन पुगेपछि ४४ पुगेको आयोगले जनाएको छ ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले राजीनामा दिएसँगै आयोगको कात्तिक ११ गतेको निणर्यबाट उपनिर्वाचन गर्ने निणर्य भएको छ । सोही मितिमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा पनि अध्यक्ष पदमा उपनिर्वाचन गर्ने निणर्य भएको छ ।

सो वडाका अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी, रुकुम (पूर्वभाग) स्थित पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ । ती स्थानीय तहका जनप्रतिनिधिको निधन भएपछि कात्तिक १ गतेको निणर्यबाट उपनिर्वाचन हुने पद थप गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा ९, मधेस प्रदेशमा ७ पद, बागमती प्रदेशमा ७ पद, गण्डकी प्रदेशमा १ पद, लुम्बिनी प्रदेशमा ६ पद, कणर्ाली प्रदेशमा ८ पद र सुदूरपश्चिममा ६ पदमा निर्वाचन हुन लागेको हो ।
मोरङको रामग्राम नगरपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष, काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष, दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदमा उपनिर्वाचन हुँदैछ । यसबाहेक अन्य स्थानमा वडाध्यक्ष र सदस्य पदमा उपनिर्वाचन हुने आयोगको भनाइ छ ।


प्रकाशित : २०८१ कार्तिक २०, मंगलवार १४:३३