लुदस /कपिलवस्तु
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले देशभर पार्टी सदस्यता नविकरण अभियान संचालन गरेको छ । जस अनुसार कपिलवस्तुमा पनी विभिन्न कार्यक्रम तय गरेको हो । गत कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न प्रथम बिधान अधिवेशनले पार्टीको प्रथम महाधिवेशन माघ २५, २६ र २७ गते काठमाडौंमा गर्ने निणर्य गरेको थियो ।
यस निणर्यको पछाडि पार्टीका समग्र सदस्यता नवीकरण अभियानलाई तिब्र गति दिइएको छ। सदस्यता नवीकरणको कार्यसँगै स्थानीय तह र प्रदेश अधिवेशनहरूलाई आगामी पौष महिनाभित्र सम्पन्न गरिनुपर्ने केन्द्रीय महाधिवेशन आयोजक समितिको कार्यतालिका रहेको जनाएको छ ।
कपिलवस्तु जिल्लामा नेसपा (नयाँ शक्ति) का स्थानीय कार्यकर्ताहरूले मङ्सिर पहिलो हप्तादेखि सदस्यता नवीकरणको कार्यलाई तीव्र पारिरहेका छन् । यसका साथै, पार्टीको प्रथम जिल्ला अधिबेशनको तयारी समितिले आगामी केही हप्ता भित्र बार्ड, गाउँपालिका र नगरपालिका स्तरका अधिवेशनहरूको आयोजना गर्ने तयारी गरिरहेको छ । त्यसपछि, तेस्रो चरणमा, जिल्लाको सदरमुकाम तौलिहवामा पौष महिनाको चौथो हप्तामा जिल्लास्तरीय पार्टी अधिवेशन भव्य र शानदार रूपमा सम्पन्न गरिने छ। यस अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न कार्यतालिका बनाइएको छ ।
जिल्ला अध्यक्ष रामनिवास पुरीले यसबारे जानकारी दिइएको छ ।
नेसपा (नयाँ शक्ति) को नीति अनुसार, सबै तहका नेतृत्व, पदाधिकारी र सदस्यहरूलाई प्रत्यक्ष निर्वाचनको प्रक्रियाबाट चयन गरिनुपर्नेछ। यसै क्रममा, पार्टीका सबै तहका सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रयास भइरहेको छ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले २०७४ सालको स्थानीय निर्वाचनमा कपिलवस्तु जिल्लामा मायाँदेबी गाउँपालिका उप प्रमुख, दुईवटा वडा अध्यक्ष र १३ जना वडा सदस्य जित्न सफल भएको थियो । त्यसपछि प्रदेश र संघका निर्वाचनमा पनि पार्टीले ६ प्रदेश सभा र ३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी प्रस्तुत गरेको थियो र त्यहाँ सम्मानजनक मत प्राप्त गरेको थियो ।
यसपछिका वर्षहरूमा, डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपा (नयाँ शक्ति) ले देशभरिका विभिन्न व्यक्ति, समूह, दल र नेतृत्वसँग सहकार्य गर्दै आफ्नो प्रगतिशील लोकतान्त्रिक दृष्टिकोण प्रस्तुत गरेको थियो। तर, ती सबै प्रयोगहरूको असफलतापछि पार्टीले अहिले नयाँ रणनीति अपनाउने निणर्य गरेको छ, जसमा विभिन्न मुद्दामा मेल खाने शक्ति र समूहसँग संयुक्त मोर्चा निर्माण गरि अघि बढ्ने नीति बनाइएको छ।
कपिलवस्तु जिल्लामा नेसपा (नयाँ शक्ति) का संस्थापक केन्द्रीय नेता बिष्णुहरी शर्मा, नारायण खनाल, इलियाज मुसलमान, डा. अब्दुल मोबिन मुसलमान, राजेन्द्रमणि पाठक लगायतका नेताहरू डा. बाबुराम भट्टराईको नेतृत्वमा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिको सदस्य रहेका छन्।
यससँगै, पार्टीका नेता र कार्यकर्ताहरूलाई आगामी जिल्लास्तरीय अधिबेशनका तयारीमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ।