पूर्वी रोल्पामा झोलुंगे पुल निर्माणस्थलको पर्खाल आइतबार बिहान भत्किँदा पुरिएर एकै परिवारका चारसहित एकै गाउँका पाँच जनाको मृत्यु हुँदा सिंगो गाउँ शोकमग्न बनेको छ। सुनछहरी गाउँपालिका–३ बाहिरी गाम गाउँ शोकमा डुबेको हो।
गाउँपालिकाको वडा नम्बर ३ वडामा पर्ने मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुंगे पुल निर्माणमा मजदुरी गर्दै आएका बाहिरी गामका पाँचजनाको पुरिएर मृत्यु भएको हो।
बिहान ९:५० बजे दुर्घटना भएको थियो। घटनामा दिलमान परियारका माहिला छोरा ४५ वर्षीय दुजमन परियार, कान्छो छोरा ३१ वर्षीय ओम परियार, जेठी बुहारी ४० वर्षीया सुबित्रा परियार र नातिनी २७ वर्षीया आइती परियारको मृत्यु भएको छ। उनीहरू एकाघरको रहेको सुनछहरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष पवित्रा बुढाले जनाए। अर्का मृत्यु भएका ६६ वर्षीय देवीराम परियार पनि एकै गाउँका छिमेकी हुन्।
दुई छोरा, एक बुहारी र नातिनी गुमाएपछि दिलमान परियारको बाँकी परिवार होसमा छैनन्। ‘एकै परिवारबाट चार र छिमेकी सहित पाँच जनाको मृत्यु भएपछि परिवार बेहोस भएका छन्। सम्हाल्न नै गाह्रो भएको छ’, पूर्व उपाध्यक्ष बुढाले भनिन्,’ ‘गाउँ पुरै शोकमग्न बनेको छ।’
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीका अनुसार ३ पुरुष र २ महिलाको पुरिएको शवलाई स्थानीय र प्रहरीले निकालेका थिए। मृत्यु हुनेहरुको आर्थिक अवस्था नाजुक छ। विपन्नताकै कारण एकै परिवारका धेरै सदस्य एक महिना अघिदेखि पुल निर्माणमा मजदुरी गर्दै आएका थिए।
एलबिएण्ड पल्लभी जक्सन जेभी निर्माण सेवा अन्तर्गत झोलुंगे पुल निर्माणमा ७ जनाले काम गर्दै आएका थिए। ढिस्को खस्दा २ जना भागेर जोगिन सफल भएका थिए। उनीहरूको अवस्था सामान्य छ। घटना लगत्तै प्रहरीलाई सूचना आएपछि गाम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रकाश बिष्टको नेतृत्वमा ५ जनाको प्रहरी टोलि घटनास्थल पुगेको थियो।
इलाका प्रहरी चौकी सुलिचौरबाट पनि प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल सदरमुकाम लिबाङबाट २८ कोष पूर्वमा पर्दछ