
फुटबल खेलाडी निशान न्यौपानेको स्मृतिमा शोक सभा सम्पन्न कपिलवस्तुबाट राष्ट्रिय स्तरमा फुटबल खेल्दै आएका खेलाडी निशान न्यौपानेको असामयिक निधनपछि उनको सम्झनामा बाणगंगा वेलफेयर सोसाइटी, ४ नं जितपुरले १५औं कपिलवस्तु महोत्सवमा शोक सभा सम्पन्न गरेको छ। निशान न्यौपानेको गत मंसिर २४ गते महोत्सवबाट घर फर्कने क्रममा स्कुटर दुर्घटनामा परेर उपचारका क्रममा निधन भएको थियो। उनले आफ्नो गृह जिल्ला कपिलवस्तुमा वेलफेयरका तर्फबाट विभिन्न खेलहरू खेलेका थिए।
वेलफेयरका अध्यक्ष राजकुमार खाणका अनुसार, महोत्सवको स्टेजमा हजारौं दर्शकहरूको बीचमा शोक सभाको आयोजना गरिएको थियो।
त्यसैगरी, निशानको स्मृतिमा घर नजिकै रहेको ज्ञानोदय आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई फलफूल वितरण गरिएको छ। आठौं दिनसम्म संकलन भएका फलफूल विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिएको हो। निशानका बुवा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हुन् भने उनका दाजु यसअघि सोही विद्यालयमा शिक्षकका रूपमा सेवा गरिसकेका छन्। निशान न्यौपानेको निधनले कपिलवस्तु तथा खेलकुद क्षेत्रलाई ठूलो क्षति पुगेको भन्दै स्थानीयहरूले उनको योगदानको प्रशंसा गरेका छन्।


प्रकाशित : २०८१ पुष २, मंगलवार ११:५८