
साउदी अरबमा अदालतबाट मृत्युदण्ड सजाय पाएकी रूपन्देहीकी सरस्वती गुरुङ घिमिरेको मुद्दाको न्यायिक प्रक्रिया पुनः सुरु भएको छ । सर्वोच्च अदालतले घिमिरे जोडिएको हत्याको मुद्दालाई शून्य विन्दुबाट सुनुवाइ गर्न आदेश दिएलगत्तै साउदीको तल्लो अदालतले फेरि सुनुवाइ थालेको हो । तल्लो अदालतले जनवरी २६ मा तेस्रो सुनुवाइको तारिख दिएको छ ।
घरेलु श्रमिक ९हाउसमेड० को हैसियतमा साउदीको राजधानी रियाद पुगेकी घिमिरेलाई आफ्नै रोजगारदाता अब्दुल रहमान अब्दुल अजिज अलाज लानको हत्या अभियोगमा तल्लो, उच्च र सर्वोच्च अदालतले मृत्युदण्डको फैसला गरेको थियो । लानको २०७० भदौ २३ मा आफ्नै निवासमा हत्या भएको थियो । तर, घिमिरेले आफूले हत्या गरेको नभई फसाइएको अडान राख्दै आएकी छन् ।
‘मालिक र मालिक्नीबीच सम्बन्ध बिग्रिएको थियो । हत्या भएको दिन मास्क लगाएर एक साउदी नागरिक घरभित्र आए । उनले मलाई शौचालयमा थुनिदिए । दुई घण्टापछि शौचालय खोलेर मेरो हातमा धारिलो चक्कुले प्रहार गरिदिए । त्यो चक्कु मेरो हातमा नै राखिदिएर फेरि शौचालयमा थुनिदिए,’ उनले अदालत र नेपाली दूतावाससमक्ष भनेकी छन्, ‘मलाई फसाइयो । म निर्दोष छु ।’ मालिक र मालिक्नीबीच खटपट र अंश विवादको सिकार आफू भएको घिमिरेले बताउँदै आएकी छन् ।यो मुद्दामा सर्वोच्च अदालतमा निवेदन दिएपछि पुनः सुनुवाइ सुरु भएको रियादस्थित नेपाली दूतावासका उपप्रमुख डमरुबल्लभ पौडेलले बताए । ‘यसबारे साउदीको विदेश मन्त्रालयमा पनि लिखित जानकारी गरायौं । साउदीको मानवअधिकार आयोग र गभर्नरलाई भेटेर ध्यानाकर्षण जनायौं,’ पौडेलले भने, ‘घिमिरेको वकिलले पनि पहल गर्नुभयो । दुवै पक्षको पहलपछि सर्वोच्चले शून्यबाट न्यायिक सुनुवाइ गर्न आदेश दिएको हो ।’

