
लुदस, जितपुर
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ नं. जितपुर स्थित पाठशाला प्रि–प्राइमरी स्कूल जितपुर मन्टेश्वरीले नयाँ भवनसँगै आफ्नो सेवाको विस्तार गर्ने तयारी गरेको छ । मन्टेश्वरीका अध्यक्ष अशिम कडेल क्षेत्रीका अनुसार, करिव १ करोड लागतमा निर्माण गरिएको नयाँ भवनले वाल मनोविज्ञान र मन्टेश्वरीको समग्र सेवाका लागि विशेष ध्यान दिनेछ । यस भवनमा बालबालिकाको समग्र विकासका लागि आधुनिक शैक्षिक सुविधाहरू उपलब्ध गराइने छन् ।
श्रीपञ्चमीको अवसरमा विद्यार्थीहरुलाई अक्षराम्भ गराइ आफ्नै भवनबाट गुणस्तरिय सेवा दिने तयारी भएको जनाईएको हो । उक्त दिन विद्यालयमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी विद्यार्थी नयाँ भर्ना सुरु गर्ने स्कूलकी संयोजक पुस्पा क्षेत्रीले बताइन् ।
विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको मन्टेश्वरी किन्डरगार्टेन शिक्षा निकै महत्वपूर्ण मानिन्छ । स्कूलमा विद्यार्थीका लागि खेलमैदानका साथै विभिन्न खेलकुदका सामग्री राखिएको छ । यसले ससाना बालबालिकालाई अक्षराम्भसँगै मनोरंजन र शिक्षा समेत प्रदान हुने अर्का संचालक विकास शर्माले बताए ।
‘पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिन्छ’, शर्मा भन्छन्, ‘यसैलाई मध्यनजर गरी हामीले सुविधा सम्पन्न भवनमा मन्टेश्वरी स्कूल संचालनमा ल्याएका हौं ।’ उनका अनुसार यहाँ अनुभवी शिक्षिकाबाट पठनपाठन हुनुका साथै एउटा कक्षामा १०/१५ जना मात्र वालवालिका राखेर बालमैत्री वातानुकुलित उनिहरुको मौषम अनुसार चिसोतातो वातावरणको व्यवस्थापन हुने जनाईएको छ ।
आगामी सोमबार स्कूल परिसरमा सरस्वतीको विशेष पुजाआजा गरेपश्चात बालबालिकाको अक्षराम्भ गर्ने शर्माले बताए । स्कूलको पूर्वाधार र शान्त वातावरणले गर्दा आफ्ना बालबालिका भर्ना गर्न पुगेका अभिभावक खुशी देखिएका छन् ।
मन्टेश्वरीमा बालबालिकालाई किताब पढाउनुको साटो खेलकुद तथा अन्य सामग्रीको माध्यमबाट उनीहरुलाई विभिन्न ज्ञान तथा सीप सिकाइन्छ । ‘यहाँ बालबालिकालाई पढ्ने बानीको विकास गराइन्छ ।
मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुर्याउँछ’, अध्यक्ष क्षेत्री भन्छन्, ‘बालबालिकाको रुचि र चाहना अनुसार पढाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्धतिबाट पढाइ हुने गरिने भएका कारण धेरै अभिभावकको रोजाई जितपुर मन्टेश्वरी स्कूल पर्छ भन्ने हाम्रो विश्वास छ ।’
उनको भनाई अनुसार व्यवस्थित, गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्ने मन्टेश्वरीको अभाव खड्किएकाले यस क्षेत्रका अभिभावकहरुको चाहनाअनुरुप आगामी दिनमा कक्षा ३ सम्म स्तर उन्नति गरिने जनाईएको छ ।
वसन्त पञ्चमीको दिन मन्टेश्वरीमा विशेष छुटमा भर्ना गर्ने व्यवस्था पनि गरिएको छ । यो छुट विशेष गरी साना र कक्षामा भर्ना हुन चाहने बालबालिकाहरूका लागि रहेको छ, जसले उनीहरूको प्रारम्भिक शिक्षा र समग्र विकासमा योगदान पुर्याउनेछ।