
अवैध शारीरिक सम्बन्ध बनाइरहेको अवस्थामा रङ्गे हात भेटिएका जोडिले पोल खुलेपछि प्युठानमा एक वृद्धको ढुङ्गाले थिचेर हत्या गरेको घटना बाहिरिएको छ । जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर ५ गोलढुङ्गा बस्ने ६९ वर्षीय चिन्तामणी उपाध्यायको ढुङ्गाले किचेर हत्या गरिएको हो ।
हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय प्युठानले गौमुखी गाउँपालिका(५ खालका ५१ वर्षीय लोकबहादुर गिरी र सोही वडाको गोलढुङ्गा बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपानेलाई नियन्त्रणमा लिएको छ । उनीहरुले यही माघ १८ गते गौमुखी गाउँपालिका(५ उपल्लो फुर्सेधारास्थित खुङ्ग(नारिकोट जोड्ने कच्ची मोटर बाटोमा मृत भेटिएका चिन्तामणीको बारेमा प्रहरीले अनुसन्धान गर्ने क्रममा आरोपितहरु पक्राउ परेका हुन् ।
जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर ५ उपल्लो फुर्सेधारा स्थित खुङ्ग(नारिकोट जोड्ने कच्ची भित्री सडक बाटोमा चिन्तामणी उपाध्ययलाई स्थानीयले माघ १८ गते विहान मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गर्छन् । उनको टाउको, अनुहार, नाक, मुख समेतमा गहिरो चोट लागी रगताम्बे भई मृत अवस्थामा फेला परेको भनि सूचना पुगेपछि प्रहरी घटनास्थलमा पुग्छ ।
अनुसन्धान गर्दै जाँदा प्रहरीले हत्याको कारण समेत पत्ता लगाउँछ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार हत्या आरोपित लोक बहादुर गिरी र जेदु कुमारी न्यौपाने बीच बिगतदेखिनै अवैध शारीरिक सम्बन्ध रहँदै आएको हुन्छ । उक्त कुरा मृतक चिन्तामणी उपाध्यायले समेत थाहा पाउँछन् । करिब १ वर्ष अगाडि जेदु कुमारीको घरमा अवैध शारीरिक सम्बन्ध राखी सुती बसीरहेको अवस्थामा मृतक चिन्तामणीले घटना थाहा पाएका हुन्छन् ।
चिन्तामणीले उक्त समय कोठाको ढोकाको चुक्कल बाहिरबाट लगाई दिएपछि उनीहरु बीचको अवैध सम्बन्धको बारेमा गाउँ छिमेकहरुले समेत जानकारी पाएका हुन्छन् । यसरी आफ्नो पोल खुलेपछि उनीहरुले त्यतिबेला नै चिन्तामणीलाई ‘नमारी नछाड्ने’ धम्की दिएका हुन्छन् । एक वर्षअघिको रिस साँध्न लोकबहादुर र जेदुकुमारीले यही माघ १७ गते साँझको समयमा योजनाबद्ध रुपमा चिन्तामणीलाई फोन गरेर बोलाई हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुले ढुङ्गा र घरेलु हतियार भरुवा बन्दुक को बट कुञ्जाले प्रहार गरी विभत्स तरिकाले चिन्तामणीको हत्या गरेको प्रहरी सामु बयान दिएका छन् ।

