
रुपन्देहीको बुटवल उपमहानगर नगरपालिकामा आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ ९हृयुमन प्यापुलोना भाइरस० खोप लगाइँदै छ । यो खोप ९ वर्षदेखि १४ वर्षसम्मको उमेर समुहका किशोरीहरुलाई लगाइने छ ।
बुटवल उपमहानगरका करिब १० हजार किशोरीहरुलाई खोप लगाउने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । संघीय सरकारको खोप कार्यक्रम अन्तरगत कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई विद्यालयमै पुगेर एचपीभी खोप लगाइँदै छ । उपमहानगर अन्तरगत रहेका ७० वटा विद्यालयमा किशोरीहरुले खोप लगाउन सक्ने छन् भने १२ वटा स्वास्थ्यसंस्था स्तरीय खोपकेन्द्रहरुमा गएर पनि यो खोप लगाइने पाण्डेले जानकारी दिए । माघ २९ गतेसम्म सञ्चालन गरिने यो अभियानमा छुटेका किशोरीहरुलाई बुटवलको आम्दा अस्पताल माघ २८ र २९ गते पनि लगाउन पाउने व्यवस्था गरिएको उपमहानगरकी खोप फोकल पर्सन कल्पना भुसालले जानकारी दिइन् ।
बुटवल उपमहानगरले तयार पारेको तथ्याङ्क अनुसार खोप लगाउनु पर्ने किशोरीहरुको संख्या विद्यालय जानेहरु ९ हजार ८१४ जना छन् भने विद्यालय बाहिर १४७ जना रहेका छन् । नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । यो समस्यालाई निराकरण गर्न लक्षित समुह नछुट्ने गरी खोप केन्द्र तोकीएको र सोही अनुसार तयारी गरिएको खोप फोकल पर्सन भुसालले बताइन् । किशोरीहरु यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले निश्चित उमेर समुह तोकिएको उनले बताइन् । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ ।
बुटवलमा खोप अभियानका लागि १७२ जना र स्वास्थ्य स्वयम् सेविका, विद्यालयका शिक्षिका तथा नर्स गरी ७० जनालाई प्रशिक्षित गरिएको । त्यसैगरी ४६ जना स्वास्थ्यकर्मी समेत खोपका लागि परिचालन गरिने भएको छ । प्रत्येक खोप केन्द्रमा १ जना स्वास्थ्यकर्मी र २ जना स्वास्थ्य स्वयम्सेविका, नर्स वा तालिमप्राप्त शिक्षिकाहरुलाई परिचालन गरिने छ । विद्यार्थीको संख्या बढी भएका विद्यालयहरुमा भने यो संख्या थप बढी हुन सक्ने खोप फोकल पर्सन भुसालले जानकारी दिइन् ।

