दलित युवा माथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा अत्याचार भएको भन्दै नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिती रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले बिहिबार बुटवलमा विरोध प्रदर्शन गर्ने जनाएको हो ।
मङ्गलवार गृहमन्त्री लेखककै निर्देशनमा अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार भएको भन्ने समाचार बाहिरिएको थियो । सोही घटनालाई लिएर दलित अधिकारकर्मी तथा नागरिक अगुवाहरुले विरोध जनाउदै आएका छन् । सोही शिलशिलमा बुटवलमा बिहिबार दिउसो ४ बजे बुटवलको पुष्पलालपार्कमा विरोध प्रर्दशन गर्ने मोर्चाका जिल्ला सचिव छवि नेपालीले जानकारी दिए ।
अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राममाथि प्रहरीले पटकपटक यातना दिएको आरोप छ । उनले सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका थिए । उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो । अन्तरजातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको अधिकारकर्मीहरुको आरोप छ ।
जात र थरकै आधारमा विभेद हुनु संविधान विरोधी क्रियाकलाप भएकोले विरोध प्रर्दशनमा सहभागि हुन सबैलाई आह्वान गरिएको मोर्चाका जिल्ला संयोजक धुव्र लामदागेले बताएका छन् । यद्यपि गृहमन्त्री लेखकले भने सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन् ।




















