अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशील जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् ।
गत आर्थिक वर्षमा एक सयभन्दा बढी कर्मशील महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी र झोला निर्माण गरेको पालिकाले यस वर्ष पाँच सय बढीलाई रोजगारी दिने लक्ष्य राखेको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले बताए ।
स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशील कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख थापाको भनाइ छ ।
नगरपालिकाले प्राकृतिक रेसाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रूपमै अगाडि बढाएको छ । हाइब्रिड जातको मकैको पोस्करबाट टोपी, झोला निर्माण नहुने भएकोले नगरपालिकाले बाँझो जग्गामा कर्मशील रोजगार कार्यक्रममार्फत मकैको बिउ उत्पादन गरेर नगरपालिका मकैको बिउमा आत्मनिर्भर बनेको नगरपालिकाका योेजना अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिए ।
मकैको पोस्कर र थाकलबाट निर्माण गरिएका टोपी र झोलामा बजारीकरणको कुनै समस्या नरहेको नगर उपप्रमुख बालकृष्ण बञ्जाडेले जानकारी दिए । ओम राज श्री मल्टी एग्रो काठमाडौंले गत आर्थिक वर्षमा तालिम लिएकामध्ये निरन्तर सामान निर्माण गर्ने भूमिकास्थान–३ कि लीला विकलाई ३० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको छ ।

बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारी खेतीबाट मनग्य आम्दानी गरेका कर्मशील महिला उद्यमीले अहिले आफैं तयार पारेका मकैको पोस्कर थाकेको पातबाट बनेका झोला टोपी हस्तकलाका सामग्री गाउँमा उत्पादन गरेर विदेशमा निर्यात गर्न थालेपछि उक्त आयआर्जनमा महिलाहरू उत्साहित भएर लागेका छन् ।
नगरपालिकाले बेरोजगारी समस्या अन्त्य गर्ने स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशील कार्यक्रम सुरु गरेको भूमिकास्थानले मकैको पोस्कर र थाकलको पातबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रूपमै अगाडि बढाएपछि महिलाहरू उत्साहित छन् ।
भूमिकास्थान नगरपालिकाका १० वटै वडामा १०/१० जनाको टोली बनाएर तालिम दिएर स्वरोजगार सिर्जना गरेको नगरपालिकाले हाल महिलाहरूलाई व्यावसायिकतामा जोडेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए । नेपालीले भने, ‘मकैको पोस्कर र थाकल (वनस्पति) बाट झोला र टोपी बनाउन सिकाउने तालिम दिएका थियौ । अहिले यो प्रभावकारी बनेको छ ।’
यसलाई ‘कर्मशील जनशक्ति रोजगार कार्यक्रम–२०८१’ नाम दिइएर कानुन निर्माण गरिएको कम्प्युटर अधिकृत शेषकान्त घिमिरेले बताए । यस प्रयासलाई मल्टी एग्रो प्रालिले सघाइरहेको छ । पहिला तालिम दिएपछि कम्पनीले प्रतिक्विन्टल १५ हजार रुपैयाँको दरले पोस्कर खरिद गरेको छ । यसरी तयार भएको झोला र टोपीको बजारीकरण पालिकाले गरेपछि महिलाहरू लाखौं रुपैयाँ कमाउने भएका छन् ।’
नगरपालिकाले काम सिकाएका महिलाहरू अहिले १० बजेदेखि ५ बजेसम्म रोजगार दिने र त्यसबापत प्रत्येकलाई ६ सय ६८ रुपैयाँ दैनिक ज्याला पालिकाले दिने गरेको छ । पालिकाबाट बेरोजगारी समस्या अन्त्य गर्ने योजनाअन्तर्गत बाँझो खेत जोत्ने अभियान पनि सँगसँगै नगरपालिकाले सुरु गरेको छ ।




















