
मोहन बेल्वासे
राजनीतिक दलहरूबीच मिनी जनमत संकलनको आधार मानिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएसँगै विद्यार्थीहरूलाई चुनाव लागेको छ । चैत्र ५ गते अर्थात भोली निर्वाचन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी संगठनलाई चुनावी चटारोले छोएको हो ।
यसपटक त्रिविले २८ वर्षसम्मका विद्यार्थी मात्र उम्मेदवार बन्न पाउने र वाल पेन्टिङ लगायतका भड्किलो प्रचार प्रसारलाई रोक लगाएको छ । कडा आचारसंहिता ल्याएर निर्वाचन कार्यतालिका समेत अघि सारिसकेको छ ।
स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवैं ढंगको मिश्रित प्रणालीमा निर्वाचन हुँदै छ । यो समाचार तयार पर्दा सम्म उमेद्वार चयन सकेर विद्यार्थी संगठनभित्र आन्तरिक तयारीहरू भइरहेको बताइन्छ ।
आगामी चैत ५ गतेका लागि निर्धारण गरिएको चुनावमा भाग लिन चाहने विद्यार्थी संगठनले क्याम्पसहरुमा संगठन दर्ता गरि उम्मेदवारी दर्ता सकेर विधार्थीका घरदैलोमा छन् । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।
फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको थियो । स्ववियू निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।
आचारसंहिता अनुसार विद्यार्थी संगठनले फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । त्रिविले माघ २२ गते नै स्ववियू निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको थियो । स्ववियूको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।
त्रिविमा २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सम्म प्रत्येक वर्ष स्ववियू निर्वाचन हुँदै आएकोमा २०३६ देखि दुई–दुई वर्षमा गराउन थालियो । २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियू निर्वाचन भएको थियो । २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।
२०६५ सालयता भने यो चुनाव नियमित हुनसकेको थिएन् । २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियू चुनाव भएको थियो । २०७९ देखि यता चैत्र ५ गते नै चुनाव हुदैछ ।
कपिलवस्तुमा ७ क्याम्पसमा निर्वाचन, बुद्धभुमीमा अन्यौल अन्यमा समिकरण फरक
आसन्न निर्वाचनमा कपिलवस्तुका ७ वटा क्याम्पसमा निर्वाचन हुने भएको जनाईएको छ । बुद्धभुमीको चौवन्नमा रहेको बुद्धभुमी क्याम्पसमा चुनाव अनिश्चित देखिएको छ । त्यहाँ सर्वसम्मत नेतृत्व चयनका लागि यस अगाडी अनेरास्ववियुलाई सभापती र सह सचिव अखिल क्रान्तिकारीलाई कोषाध्यक्ष र ने.वि.संघ लाई सचिव सहित बहुमत सदस्य दिनेगरि भएको सहमती कार्यान्वय नहुने ने.वि.संघ ले जनाएपछी चुनावमा जाने स्थिति देखा परेको र हालसंम्म निर्वाचन समितिले मतदाता नामावली प्रकाशन लगाएत निर्वाचनका काम अगाडी नबढाएका कारण चुनाव अन्यौल देखिएको ने.वि.संघ का नेताहरु बताउछन् ।
जिल्लाको सवैभन्दा ठुलो बाणगंगामा रहेको सिद्धार्थ क्याम्पस , बाणगंगा बहुमुखी क्याम्पस लौगाईमा बाम गठबन्धन विच तालमेल गरि चुनावमा होमिएका छन् । भने नेविसंघ एकल प्यानल रहेको छ । सिद्धार्थ क्याम्पसमा १ हजार ५३ मतदाता छन् भने लौगाईमा २ सय ८० मतदाता विधार्थी रहेको क्याम्पस प्रशासनले बताएको छ । कपिलवस्तुको शिवराजमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसमा ने.वि.संघ र एकिकृत समाजबादीको तालमेल , माओवादी निकट अखिल क्रान्तिकारी र विप्लव निकट क्रान्तिकारी विधार्थी विचको अर्को तालमेल र अनेरास्ववियु एक्लै चुनावी मैदानमा छन् । त्यहाँ कुल ५ यस ३६ मतदाता रहेका छन् । त्यसैगरि समयथान क्याम्पसमा राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौ, नेविसंघ र विधार्थी मन्चको गठबन्धन अनेरास्ववियु संग भिडदै छ । समयथान बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा भाग लिने ३ सय ३० विधार्थी छन् । राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र विधार्थी मन्च विच दुवै क्याम्पसमा गठबन्धन भएको जनाईएको छ । यसैविच कपिलवस्तु बहुमुखी क्याम्पसमा तौलिहवामा ९ सय ४६ विद्यार्थी मतदाता रहेका छन् । यहाँ संयुक्त लोकतान्त्रिक विद्यार्थी समुहबाट ने.वि.संघ , समाजबादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारी विच तालमेल भएको हो । अनेरास्ववियु र ज.स.पा निकट समाजबादी विद्यार्थी संगठन विच तालमेल गरि उमेद्वारी दिएका छन् ।
अधिकांश क्याम्पसमा सत्तारुढ विधार्थी संगठन विच नै मुख्य प्रतिस्पर्धा
कपिलवस्तुका सिद्धार्थ क्याम्पसमा , बाणगंगा बहुमुखी क्याम्पस लौगाई , गौतमबुद्ध बहुमुखी क्याम्पस, र कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा, फलारीबाबा क्याम्पसमा अनेरास्ववियु भर्सेस ने.वि.संघ विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यस अगाडी कहाँ कसको नेतृत्व
कपिलवस्तुको सिद्धार्थ क्याम्पस : ने.वि संघ
नेपाल आदर्श बहुमुखी क्याम्पस : अनेरास्ववियु
समयथान बहुमुखी क्याम्पस : ने.वि.संघ
बाणगंगा बहुमुखी क्याम्पस लौगाई : चुनाव हुन नसकेको ।
कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा : अनेरास्ववियु
गौतमबुद्ध क्याम्पस : ने.वि.संघ
फलारीबावा क्याम्पस महाराजगंन्ज : अनेरास्ववियु