कपिलवस्तु, १३ चैत
बुटवल–गोरुसिंगे सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले बाणगंगा नदीबाट नदीजन्य पर्दाथ चोरी गरेको छ । तिब्र गतिमा काम गरेर प्रशंसा बटुलेको एससिइजीसी–एनएस जेभी निर्माण कम्पनीले नक्कली भ्याट बिल बनाई नदीजन्य पर्दाथ निकासी गर्ने क्रममा मंगलवार पक्राउ परेको छ । बाणगंगा नगरपालिका राजस्व शाखाले नदीबाटै नक्कली बिल बनाई ढुवानी गरिरहेको आयोजनाको लु२ ख १७०४ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको छ ।


बुटवल–गोरुसिंगे सडकलाई आवश्यक पर्ने नदीजन्य पर्दाथ निकासी गर्न बाणगंगा नगरपालिकाले उक्त ठेकेदारलाई चालु आ.ब.का लागि भ्याट बाहेक १५ रुपैया रुपैयाको दरले ६४ हजार घनमिटर माल निकाल्न स्वीकृति दिएको छ । तर ठेकेदारले तोकिएको परिमाण भन्दा बढि मालवस्तु निकालेर बाहिर बेच्ने उद्धेश्यले नक्कली बिल बनाई चोरी गरिरहेको बताइन्छ । ठेकेदारले चैत ११ गते उक्त ट्रकलाई ४२० नम्बरको रसिद काटेका छन् भने १२ गते करिव ४ बजे नगरपालिकाको टोली अनुगमन आउने थाहा पाएपछी हतार हतार ४१२ नम्बरको रसिद काटेका छन् । नगरपालिका श्रोतका अनुसार ४१२ नम्बरको उक्त रसिद नक्कली हो । यसबारे पालिकाले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । राजस्व प्रमुख मदन घिमिरेले आयोजना ठेकेदारको २ वटा ट्रिपर नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।
बुटवल–गोरुसिंगे आयोजनाको ठेकेदार प्रतिनिधी बाबुराम अधिकारीकै निर्देशनमा किर्ते भ्याट बिल बनाई नदीजन्य पर्दाथ चोरी भइरहेको बताइन्छ । आयोजनाको बुटवल देखि बुड्ढी चोक सम्मको ४ लेन सडक निर्माणका लागि १ लाख घनमिटर नदीजन्य पर्दाथ आवश्यक पर्ने लागत स्टिमेट हुदा हुदै पनि ठेकेदार पक्षले ३ लाख घनमिटर नदीजन्य पर्दाथ निकासीका लागि बाणगंगा नगरपालिका संग माग गरेका थिए । तर बाणगंगाले महत्वपूर्ण आयोजना भन्दै हाल ६४ हजार मात्र दिने र पछि आवश्यक परे दिने भन्दै सिधै कार्यपालिका बाटै निर्णय गरेर सामाग्री उप्लब्ध गराएको थियो ।
नक्कली भ्याट बिल बनाएका ठेकेदार बाबुराम अधिकारी तथा आयोजना माथि नक्कली बिल बनाई भ्याट छली गरेको, पालिकाले तोकेर दिएको परिमाण चोरी गरेको, पालिकाको सरकारी छाप किर्ते गरेको लगायतका मुद्धा लाग्न सक्ने बताइएको छ । आयोजनाको नाममा बाणगंगा नदीको चरम दोहन गर्ने गिरोह यतिखेर ठेकेदार संग मिलेर ठूलो चलखेल गरेको र त्यसमा स्थानीय राजनितिक दल र जनप्रतिनिधीहरुको समेत संलग्नता हुन सक्ने स्थानीयबासी बताउछन । चोरी गर्ने ठेकेदार नगरपालिकाको फन्दामा परेको छ ।




















