
सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित कार्यक्रमको कार्यतालिका तयार भएको छ ।
राजमो केन्द्रीय कार्यालयद्वारा २०८१ चैत २२ गते बागबजारमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
महासचिव मनोज भट्टको सञ्चालनमा अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीद्वारा वितरित पत्रकार सम्मेलनमा मिति, कार्यक्रम स्थल र प्रमुख वक्ताको बारेमा जानकारी दिइएको छ ।
कार्यतालिकाअनुसार पहिलो दिन चैत २४ गते शान्तिवाटिकामा दिउसो २ बजे उद्घाटन कार्यक्रम सम्पन्न हुनेछ । यहाँको सभालाई राजमो अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुनेछ ।
दोस्रो दिन चैत २५ गते दिउसो २ बजे चाबहिल चोकमा सभा सम्पन्न हुनेछ । सो सभालाई राजमो नेता बोमबहादुर खत्रीले सम्बोधन गर्नुहुनेछ ।
तेस्रो दिन चैत २६ गते दिउसो २ बजेको कार्यक्रम माइतीघर मण्डलामा सम्पन्न हुनेछ । यहाँको सभालाई महासचिव मनोज भट्टले सम्बोधन गर्नुहुनेछ ।
चौथो दिन चैत २७ गते गोङ्गबुचोकमा दिउसो २ बजे नै सम्पन्न हुने कोणसभालाई नेकपा (मसाल) ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसीले सम्बोधन गर्नुहुने छ ।
पाँचौँ दिन चैत २८ गतेको दिउसो २ बजेको कार्यक्रम न्यूरोड भूगोलपार्कमा सम्पन्न हुनेछ । सो सभालाई राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले सम्बोधन गर्नुहुनेछ ।
छैटौँदिन चैत २९ गतेको कार्यक्रम दिउसो २ बजे भृकुटीमण्डपमा सम्पन्न हुनेछ । यहाँको सभालाई केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सम्बोधन गर्नुहुनेछ ।
सातौँ दिन अर्थात् अन्तिम दिनको कार्यक्रम चैत ३० गते शान्तिवाटिकामा नै सम्पन्न हुनेछ । यहाँको सभालाई राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुनेछ ।
पत्रकार भेटघाट कार्यक्रम दुर्गा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।