
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।
बिहान ४ बजेतिर खसेको पहिरोले एक कारसमेत पुरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ। कार माथिल्लो भागबाट खसेको पहिरोमा पुरिएको हो । बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपरसमेत फसेको छ। दोभान प्रहरी चौकीका अनुसार कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । यस क्षेत्रमा परेको वर्षाले बिहान ४ बजेदेखि नै सडक अवरुद्ध भएको छ ।