
कुनै पनि सहयोग सानो वा ठूलो भन्ने हुँदैन । तर कहिलेकाहीँ सानो सहयोगले ठूलो चर्चा पाउँछ । यस्तै भएको छ अहिले मोरङमा । उर्लाबारी नगरपालिकाले प्रहरीलाई गरेको दुई वटा साइकल सहयोग ट्रोल बन्न पुगेको छ ।
‘चोर बाइकमा भाग्छ, पुलिस साइकलमा लखेट्छ’ भन्दै धेरैले प्रहरी र नगरपालिकालाई व्यङ्ग्य गरेका छन् । कतिपयले स्रोत साधन नहुँदा पनि प्रहरीले नागरिकलाई सुरक्षा दिइरहेको भन्दै ‘बाध्यता’ भनेका छन् ।
स्थानीय सुमन घिमिरेले ‘सहयोग दिने भए बाइक दिएको भए हुने नि’ भनेर नगरपालिकालाई कटाक्ष गरेका छन् । लेखेका छन्, ‘भ्रष्टाचारीलाई जनताको करले स्कर्पियो, सुरक्षाकर्मीलाई पालिकाको साइकल !’
दिपक आचार्यले ‘६ हजारको साइकल किन्दा कति कमिशन खाइयो ?’ भनेर जनप्रतिनिधिलाई प्रश्न गरेका छन् । ‘अब यो ६ हजारको साइकल किन्दा कति भ्रष्टाचार भयो होला ? भनेको भए मै किन्दिन्थे’, उनले लेखेका छन् ।
उता नगरपालिकाकी उपप्रमुख मीना कुमारी खतिवडाले भने ‘प्रहरीलाई जे आवश्यकता थियो, त्यही सहयोग गरिएको’ बताएकी छन् । उनले भनिन्, ‘हाम्रो सहयोगलाई मजाक बनाइयो, हामीले त प्रहरीलाई जे चाहिएको थियो, त्यही दिएका हौँ, भोलिका दिनमा अरु आवश्यक परे, त्यो पनि सहयोग गछौँ ।’
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्चार्ज इन्सपेक्टर रञ्जन बरालले पनि भित्री बजारमा गस्तीको लागि साइकल आवश्यक परेर नगरपालिकासँग माग गरिएको बताए । प्रहरीले दुई वटा साइकल पनि आफैं किन्न नसकेको हो ? भन्ने जनआस्थाको प्रश्नमा उनले भने,‘त्यस्तो हैन, मेयर सापले हामी दिन्छौं भनेपछि लिएका हौँ । गाडी त छ, तर बजारका भित्री गल्लीमा गस्ती जाँदा अफ्ठ्यारो हुन्छ । राति लागुपदार्थको ओसारपोसार हुने गल्लीहरुमा गस्तीमा जान साइकलमा सजिलो हुन्छ ।’