छिमेकी मुलुक भारतको काश्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव अहिले बुटवलस्थित घरमा ल्याइएको छ।
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका बुटवलका युवा सुदिप न्यौपानेको मङ्गलवार हमलामा ज्यान गएको थियो। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्।
सुदिपको मृत्युपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउ सम्म हवाई जहाजमा ल्याईएको थियो। लखनउबाट नेपाल भारत सुनौली सम्म र सुनौलीबाट घरसम्म नेपालको एम्बुलेन्समा ल्याईएको हो।
लखनउ बाट सुनौलीसम्म भारतको उत्तरप्रदेशको एक जिल्लाका डीएमले सुदिपको शव र उनिसँगै गएका आफन्तलाई लिएर आएका थिए।शव ल्याउनका लागि बुटवल -१४ का वडाध्यक्ष समेत रहेका सुदीपका काका दधिराम न्यौपानेसहितका परिवारका अन्य सदस्य सुनौली पुगेका थिए।
त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी प्रमुख रन्जित सिंह राठौर समेतको सुरक्षा टोलीले सुनौलीदेखी बुटवल घरसम्म शव ल्याईपुर्याएको प्रहरी प्रमुख राठौरले जानकारी दिए।
अहिले सुदिपको घर बुटवल कालिकानगरस्थित मनकामनापथमा शोकाकुल अवस्थामा उनका आफन्त र स्थानीयको भिड लागेको छ। सुदिपको शवलाई आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने बुटवल उपमहानगरपालिका ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए।





















