
पूर्वमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई शिक्षा क्षेत्रमा सुधारका लागि ११ बुँदे सुझाव दिएका छन्। बिहीबार पदभार ग्रहण गरेका पन्तलाई जिम्मेवारी पटक पटक नआउने भएको भन्दै तामाङले आएको बेलामा गरेर देखाउन सुझाव दिएका हुन्।
पन्त कुशल स्पष्ट वक्ता तथा लामो समय पत्रकारिताको अनुभव प्राप्त राजनीतिज्ञ भएको उल्लेख गर्दै तामाङले उनको स्पष्टता र निडरता आफूलाई असाध्यै मन पर्ने उल्लेख गरेका छन्। ‘तपाईँ एक कुशल स्पष्ट वक्ता तथा लामो समय पत्रकारिताको अनुभव प्राप्त राजनीतिज्ञ हुनुहुन्छ। तपाईंको स्पष्टता र निडरता मलाई पनि अत्यन्तै मनपर्छ।’ बधाई तथा शुभकामना दिँदै उनले भनेका छन्, ‘तपाईँका विषयमा समाजमा मान्छेका अनेकथरी बुझाइहरू बाहिर आएका छन्। सकारात्मक बुझाइहरूलाई धन्यवाद भन्दै नकारात्मक बुझाइहरूलाई कामले जित्नुपर्नेछ। जिम्मेवारी पटकपटक आउँदैन आएको बेलामा गरेर देखाउने हो। तपाईंले अहिले यो अवसर प्राप्त गर्नुभएको छ। त्यसैले तपाईँले यो अवसरलाई सदुपयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ।’
तामाङले सम्भव भए सबै शिक्षक कर्मचारी तथा सरकारी तलब भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने आग्रह गरेका छन्। उनले शिक्षक आन्दोलनलाई वार्ताद्वारा तत्काल समाधान गर्न सुझाव दिएका छन्।
यसैगरी उनले विद्यालय शिक्षालाई बिहानी सिफ्टमा चलाउने,व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्ने,आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागू गर्ने, दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रुपमा विकास गर्न कार्यक्रम अगाडि बढाउन सुझाव दिएका छन्।
यी हुन् शिक्षा क्षेत्रमा सुधार गर्नको लागि पूर्वमन्त्री तामाङले दिएका सुझाव :
१. विद्यालय शिक्षालाई बिहानी सिफ्टमा चलाउने (यस विषय र यसबाट हुने लाभको बारेमा विस्तृत रुपमा तपाईँसँग लिखित रूपमा भेटमा राख्नेछु।)
२. वर्तमान शिक्षक आन्दोलनलाई वार्ताद्वारा तत्काल समाधान गर्ने।
३. विद्यालय शिक्षामा नेपाली “Moral and Values” पढाउने गरी नैतिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला।
४. समृद्ध राष्ट्र निर्माण गर्ने आधार नै शिक्षा भएकोले विद्यालय शिक्षादेखि नै नेपाली उत्पादन, नेपालको माटो, नेपालको प्राकृतिक साधन स्रोत र नेपालमै हुने आम्दानीको बारेमा पढाउने व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला।
५. सम्भव भए डिप्लोमा पास गरेपछि मात्रै नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने व्यवस्था मिलाउन कोसिस गर्नुहोला।
६. विदेशी युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजहरूले जति पनि विद्यार्थी भर्ना गर्न पाउने तर नेपालका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजहरूलाई सीमित कोटा तोक्ने र नियोजन गर्ने कुरा तत्काल बन्द गर्नुहोला।
७. विद्यालयहरूको तत्काल म्यापिङ थाल्नुहोला। र विद्यालयहरूलाई मर्ज गरेर आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागू गर्नुहोला।
८. विद्यालयहरूलाई दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रुपमा विकास गर्न कार्यक्रम अगाडि बढाउनुहोला।
९. काम गर्दैछ पढ्दैछ कार्यक्रमको बारेमा अध्ययन थाल्नुहोला।
१०. प्राविधिक तथा व्यावसायिक शिक्षामा बढी ध्यान दिनुहोला।
११. सम्भव भए सबै शिक्षक कर्मचारी तथा सरकारी तलब भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने।