
प्रतिनिधिसभ बैठक जारी छ। बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका मुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।
सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए । शिक्षकहरू लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरूका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत् ‘रुलिङ’माग गरे।
त्यसपछि बोलेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे। बर्तौलाले शिक्षामन्त्री निरन्तर छलफलमा रहेकाले यस विषयमा सरकार अनुदार बनेको जस्तो नदेखिएको जिकिर गरे।
शिक्षकहरूसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको उनले बताए। उनले भने,’सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरूसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ’,आज साँझसम्ममा निकास निस्कनेमा आशावादी छौं।’
विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरू चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।