
वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र अवरुद्ध भएको छ । शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।सडकमा गाडि नै चिप्लिने भएकाले यो सडक भएर यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । सडक विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा पानी पर्दा हिलो र नपर्दा धुलो हुने हुँदा यात्रा कष्टकर हुने गरेको छ ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।