
ढोरपाटन उपत्यकामा रहेको सामुदायिक स्वास्थ्य इकाइमा २०७६ सालदेखि बर्थिङ सेन्टर स्थापना गरेर सेवा प्रवाह भएपनि अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन । यहाँका बिरामीले सामान्य उपचारमात्रै पाउने गरेका छन् । सुत्केरी हुनुपर्नेहरु गाडी रिजर्भ गरेर बुर्तिवाङ झर्नुपर्ने बाध्यतामा छन् ।
भएको बर्थिङ सेन्टरमा न्यानो बनाउने ठाउँको अभाव छ । जतिबेला पनि चिसो हुने ढोरपाटन उपत्यकामा लामो समयसम्म व्यथा लाग्ने र शिशु जन्मेपछि तातो बनाउने ठाउँको अभावमा सकेसम्म सहरी क्षेत्रमा जान खोज्ने धेरै छन् ।
शिशु जन्मेपछि तातो बनाउने बेबी वार्मर मेसिन पनि बिग्रेको छ । बनाउने अवस्था छैन । तत्काल अर्को ल्याउन पनि नसक्ने भएपछि जन्मेको शिशुलाई तताउनु परे समस्या भएको सेन्टरकी अनमी सीता बुढा मगरले बताइन् । ‘चिसो मौषममा महिलालाई लामो समयसम्म व्यथाले च्याप्छ तर बच्चा जन्माउन कठिन हुन्छ,’ उनले भनिन्, ‘न्यानो बनाउने मेसिन बिग्रेकोले बालबालिकालाई पनि आगो फुकेर सेकाउनुपर्ने बाध्यता छ ।’
भएको मेसिन बिग्रेकोले आगो फुक्न बाध्य भएको उनले बताइन् । बिग्रेको मेसिन मर्र्मत नहुने भएपछि जीर्ण छ । नयाँ मेसिन आउने अवस्था नभएपछि स्वास्थ्यकर्मी र प्रसुती व्यथा लागेर आएकाहरुको परिवारका सदस्य मिलेर आगो फुक्ने गरेका हुन् । चिसोमा आगो फुकेपछि सबै मिलेर बालबालिका र सुत्केरी सेकाउँछन् ।
ढोरपाटनमा ६ सयबढी घर छन् । निसेलढोर समेत गर्दा उपत्यकाभर १ हजार घरधुरीको बसोबास छ । यकिन जनसंख्या जानकारी नभएपनि ३ हजार ५ सयदेखि ४ हजार जनसंख्या नियमितजसो उपत्यकामा छ । फागुनदेखि कात्तिकसम्म सबै यहाँ बस्छन् । चिसोको चार महिना बेसी झर्छन् । निसेलढोर केही न्यानो भएकोले अधिकांस गाउँमै बस्ने गरेका छन् । उनीहरुलाई जाडो मौषममा स्वास्थ्य सेवा लिन निकै कठिन छ । अन्य मौषममा पनि सेवा लिन डेरा लिएरै बस्नुपर्ने बाध्यता छ ।
ढोरपाटन इकाईमा गत चैत महिनामा मात्रै ३ सय ३४ जनाले स्वास्थ्य सेवा लिएका छन् भने गतवर्ष ११ जना सुत्केरी भएका थिए । चालु वर्ष १६ जना सुत्केरी भएका छन् । वर्षमा ३५ जनासम्म गर्भ परीक्षण गर्न आउने गरेकोमा केही सहर पस्छन् भने केही घरमै सुत्केरी भएको भेटिएको बुढमगरले जानकारी दिइन् ।
ढोरपाटन उपत्यकामा निर्माणाधिन अस्पताल डेढ वर्षपछि शुरु भएको छ । ढोरपाटन नगरपालिकाले २०८० कात्तिकमा ठेक्का लगाएको अस्पताल भवनको ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । २०८२ असार मसान्तमा सकिनुपर्ने भवनको काम गरेको भुक्तानी नपाएपछि ठेकेदारले काम छाडेका हुन् । १७ करोड ५० लाखमा सम्झौता भएको भवनको अहिलेसम्म ठेकेदारले ८ करोड ७६ लाख मात्रै पाएको हो । यो भवन बनेमा नगरपालिकाले दक्ष जनशक्तीसहित अस्पताल संचालनमा ल्याउने योजनामा राखेको छ ।
सदरमुकामदेखि ९० किमी पश्चिमको बुर्तिवाङ बजारमा बनेको जिल्ला अस्पताल गत फागुनदेखि मात्र संचालनमा छ । यहाँ उपकरण र दक्ष चिकित्सकको अभाव छ । २०६७ सालमा घोषणा भएको १४ वर्षपछि मात्र यो अस्पताल उद्घाटन भएको हो । यहाँ दैनिक २ सय ५० जनासम्म बिरामी आउने गरेका छन् । मासिक २० जना सम्मको अपरेशनसहित सुत्केरी गराउनुपर्छ ।
निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको दुइ वर्ष पुग्यो । तर यहाँ अझैपनि बर्थिङ सेन्टर छैन । आफ्नै वडा कार्यालय रहेको निसी पुग्न १० घण्टा र ढोरपाटन उपत्यका पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । जसका कारण यहाकाँ अधिकांस महिला घरमै सुत्केरी बन्न बाध्य छन् । सुरक्षित स्थान खोज्दा सहरी क्षेत्रमा डेरा लिएर बस्नुपर्ने बाध्यता रहेको इकाईकी अनमी यामकुमारी घर्तीले बताइन् ।