गुल्मीमा माछा मार्न गएका एक पुरुष खोलामा मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका–२ बुटिलगाउँका ४५ वर्षीय ज्ञानबहादुर राकस मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार राकस छत्रकोट गाउँपालिकाकै वडा नम्बर १ मा पर्ने बोटेगाउँ रेग्दी छहरामा माछा मार्न गएका थिए ।
सोमबार दिउँसो १२ बजे माछा मार्न हिँडेका तर साँझसम्म नफर्किएपछि उनको खोजी कार्य सुरु भएको थियो । मंगलबार बिहान साढे ७ बजे बडिगाड खोलामा स्थानीयले घोप्टो परेको अवस्थामा राकसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा टोली खटिएको छ । शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइँदैछ ।





















