समावेशी सोच, स्थानीय सहभागिता र महिला–अनुकूल पूर्वाधार विकासका लागि तिलोत्तमा नगरपालिकामा दुई दिने सह–डिजाईन कार्यशाला सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकालाई महिलामैत्री, सुरक्षित र समावेशी शहरका रूपमा विकास गर्न युनोप्सको साझेदारीमा प्रारम्भ भएको तीन वर्षे परियोजना अन्तर्गत नगरको वडा नं। ४ ९सीमानगर० र वडा नं। ९ ९मंगलापुर० मा पूर्वाधार निर्माणका लागि मंगलबार र बुधवार सह–डिजाईन कार्यशाला सम्पन्न भएको हो ।‘सबैका लागि उपयुक्त शहर’ बनाउने उद्देश्यले स्थानीय समुदाय, जनप्रतिनिधि, योजना विज्ञ, महिला समूह, युवा तथा सरोकारवाला निकायहरुको सक्रिय सहभागितामा निर्माण गर्न लागिएको सार्वजनिक पूर्वाधारहरूको प्रारम्भिक डिजाइन तयार गरिएको छ ।
कार्यशालामा सहभागीहरूले आफ्ना अनुभव, आवश्यकताहरू, विचार माथि छलफल गर्दै समावेशी, सुरक्षित र पहुँचयुक्त संरचना निर्माणमा जोड दिएका छन् । निर्माणको प्राथमिकतामा महिलामैत्री आराम गृह, स्तनपान कक्ष, सार्वजनकि शौचालय, बालमैत्री खेलमैदान, खुला विश्राम क्षेत्र, सबैका लागि उपयुक्त पैदल लेन, सार्वजनिक बगैंचा र सडक किनारमा उज्यालो ९लाईटको० व्यवस्थाजस्ता संरचनाहरू राखिएका छन्।साथै, महिलाहरूले उत्पादन गरेका सामग्री बेचबिखन गर्न स्टलको समेत व्यवस्था गरिनेछ।
कार्यशालामा नगर प्रमुख रामकृष्ण खाँणले सहभागीहरूलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाले केवल संरचना मात्रै बनाइरहेको नभई सहजता, समानता र समावेशिताको आधार निर्माण गरिरहेको बताउनु भयो । समावेशी योजना र स्थानीय सहभागिता नै नगर विकासको मेरुदण्ड भएको उहाँको भनाई छ ।
कार्यक्रममा सहभागी वडा नम्बर ४का वडा अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नम्बर ६का वडा अध्यक्ष गणेश पाठक र वडा नम्बर ९का वडा अध्यक्ष ध्रुव न्यौपानेले बोल्दै कार्यशालाबाट संकलित विचारहरूलाई परिमार्जन, पुनरावलोकन र परीक्षणको प्रक्रियापछि कार्यान्वयन गरिने हुँदा यस प्रक्रियाबाट तिलोत्तमा नगरपालिकालाई साँचो अर्थमा महिला मैत्री, समावेशी र सुरक्षित शहर बनाउने लक्ष्यलाई पुरा गर्ने बताउनु भयो ।
युनोप्सकी कार्यक्रम विशेषज्ञ निलम धनुषेले महिलाले उत्पादन गरेर बिक्री गर्न मिल्ने खाद्य सामग्री तथा अन्य सामग्रीका स्टल समेत निर्माण गर्ने बताउनु भयो । उहाँका अनुसार जुन स्थानमा उक्त पूर्वाधार बनाइन्छ, त्यसका लागि समुदायका महिला, पुरुष, युवा र बालबालिकासँग छलफल गरी उनीहरुले चाहेको पूर्व नक्सांकनमा आधारित संरचना बन्नेछ । उहाँले प्राविधिक, जलवायु र स्थानगत पक्षलाई ध्यानमा राखेर पूर्वाधार बनाइने र परियोजनामा नगरपालिकाको ३० प्रतिशत लगानी हुने जानकारी दिनुभयो ।
सह–डिजाईन अभ्यासबाट संकलित विचार र डिजाइन अवधारणाहरूलाई परिमार्जन, परीक्षण र पुनरावलोकन गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको युनोप्सका आर्किटेक्ट मनीषा कार्कीले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रम मार्फत तिलोत्तमा नगरलाई महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायत सबैका लागि सुरक्षित, समावेशी र समर्पित शहर बनाउने लक्ष्य लिएको बताउनु भयो ।
परियोजनाका लागि तीन वर्षे कार्यान्वयन अवधि तोकिएको छ। पहिलो चरण सफल भएमा अन्य वडाहरूमा समेत परियोजना विस्तार गरिने युनोप्स र नगरपालिकाले जनाएको छ । यस किसिमको सहभागी र बहस–आधारित योजना प्रक्रियाले दिगो, समान र अधिकारमैत्री नगर विकासतर्फको यात्रालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।