पाल्पा, तानसेन १४ – नेत्र पान्डे
अर्गलि टारबारी क्षेत्रमा सिँचाइको अभावका कारण वर्षौंदेखि समस्यामा परेका किसानहरूका लागि राहतको आशा देखिएको छ। बुटवल स्थित भू–जलाधार सिँचाइ कार्यालयको प्राविधिक टिमले आज तानसेन नगरपालिका–१४ अर्गलिमा डिप बोरिङका लागि पहिलो दिनको सर्भे कार्य सम्पन्न गरेको छ।
यस सर्भेबाट उक्त क्षेत्रको पाखोबारीमा भूमिगत पानीको सम्भाव्यता अध्ययन गरी सिँचाइको समाधान खोज्ने उद्देश्य राखिएको छ। वडाध्यक्ष श्री शोभाकर भट्टराईले “केही समयभित्रै सर्भे रिपोर्ट आउनेछ, जसबाट भूमिगत पानी उपलब्ध छ वा छैन, र भए कुन स्थानबाट निकाल्न सकिन्छ भन्ने जानकारी प्राप्त हुनेछ,” जानकारी दिनुभयो।
पाखोबारी सिँचाइ समिति अध्यक्ष कपिल पाँडेका अनुसार यदि यो योजना सफल भयो भने अर्गलिका किसानहरूका लागि सिँचाइको ठूलो सुविधा प्राप्त हुनेछ। उहाँले भन्नुभयो, “सिँचाइ सुविधा आएमा रनुवाका किसानहरूलाई फाइदा पुग्नेछ, गाउँमै स्वरोजगार सिर्जना हुनेछ र आत्मनिर्भरता बढ्नेछ।”
सर्भे कार्यको सुरुवातले स्थानियबासी र किसानहरूमा उत्साह र आशा जागेको छ। अबको केही समयभित्र आउने प्राविधिक प्रतिवेदनले अर्गलिमा आधुनिक सिँचाइ प्रणालीको ढोका खोल्ने अपेक्षा गरिएको छ।




















