
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरामा ग्यास लिक भएर आगो लाग्दा एकै परिवारका दिदी–भाइको ज्यान गएको छ । पर्शुराम यादवको घरमा जेठ ११ गते बिहान करिब ७ बजे खाना बनाउने क्रममा ग्यासको रेगुलेटरबाट ग्यास लिक भई आगलागी भएको थियो । आगलागीमा परी उनको २४ वर्षीय छोरा शिव कुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको हो । आगलागीबाट गम्भीर घाइते उनीहरुको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताए ।
घरको भान्साकोठामा खाना पकाउने तयारी भइरहेकै बेला रेगुलेटर जडान गर्दा ग्यास लिक भई गोठमा बलेको आगोले समात्दा आगलागी भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट प्रहरी टोली खटिएको थियो । स्थानीयवासीहरूको सहयोगमा आगो ७ः३५ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगालागीबाट अन्य भौतिक क्षति नभए पनि शिव कुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।
दुबै गम्भीर घाइतेलाई उपचारका लागि तत्कालै भैरहवा स्थित मेडिकल कलेज लगिएको थियो । तर शिवकुमारलाई थप उपचारका भारतको गोरखपुर मेडिकल कलेजमा लगिएको थियो । सोनमको भैरहवा र शिवकुमारको गोरखपुर लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सोनम यादव नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुरफुटवामा कक्षा १० मा अध्ययनरत हुनु हुन्थ्यो । विद्यालयका प्र।अ।लाल चन्द्र पाण्डेका अनुसार सोनम विद्यालयमा मेहननी छात्रा थिइन । हरेक कार्यक्रममा सकृय हुन्थिन् । आगोमा जलेर गुमाउनु निकै दुखद हो । मृतको चिर शान्तीको लागी सोमबार विद्यालयले शोक विदा राखेको पाण्डेले बताए ।