बुटवल उपमहानगरपालिका–४ का १७ वर्षीय दिपेश सुवेदी र १७ वर्षीय अभिषेक श्रेष्ठको एकै दिनमा तिनाउ खोला बाँधस्थलमा डुबेर मृत्यु भयो । एसईई दिएर बसेका उनीहरू बुटवलको उखरमाउलो गर्मी छल्न तिनाउ खोलाको दोभान क्षेत्रमा आएका थिए । झन्डै दुई साता अघिको यो घटनामा पहिला अभिषेक र पछि दिपेशको शव भेटियो ।
केही दिनअघि मात्र तिनाउ खोलामा डुबेर भारतीय एक किशोर डुबेर बेपत्ता भए । उनको शव दोस्रो दिन मात्र नेपाली सेनाको पहलमा निकालियो । तिनाउ गाउँपालिका–३ बाँधस्थलमा अन्य साथीसँग पौडी खेल्न गएका भारतीय किशोर सोयब अन्सारी बेपत्ता भएका थिए । भारतको महाराजगन्ज नौतनहवा बस्ने १८ वर्षीय किशोर अन्सारी सिद्धार्थ राजमार्ग नजिकै तिनाउ खोलाको बाँधस्थलमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
यसअघि पनि भारतको गोन्डा जिल्लाबाट आफ्ना बुबाआमासँग घुम्न आएका १२ वर्षीय काब खान तिनाउ गाउँपालिका–३ बाँधस्थलबाट बेपत्ता भएका थिए ।
यी केही उदाहरण मात्र हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकमा चालु आर्थिक वर्षको साउनदेखि जेठको पहिलो सातासम्म पाल्पाको कालीगण्डकी नदी र तिनाउ खोलामा मात्र डुबेर ११ जनाको मृत्यु भएको छ । कालीगण्डकी नदीमा ४ जना र तिनाउ खोलाको बाँधस्थलमा मात्र ७ जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लका अनुसार गर्मी लागेपछि शितलताका लागि खोलामा नुहाउन र पौडी खेल्न जाने प्रायः किशोरको मृत्यु भएको देखिएको छ । तिनाउ खोलामा डुबेर मृत्यु हुने नेपालीभन्दा अधिकांश व्यक्ति भारतीय नागरिक रहेको उनले बताए । कालीगण्डकी नदीको राम्दीमासमेत एक जना भारतीय नागरिकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको सूचना अधिकारी मल्लले बताए । विषेशगरी चैतदेखि जेठ महिनामा पर्याप्त पानी नपर्ने र गर्मी छल्न खोलामा जाने भएकाले पनि यस्ता घटना हुने गरेका छन् । अधिकांश डुबेर मृत्यु वैशाख र जेठ महिनामा हुने गरेको छ । सो संख्यामा मानिसहरू खोमामा डुबेर मृत्यु भएका हुन् ।
पछिल्लो समय गमी बढेपछि पानीमा नुहाउन र पौडी खेल्नका लागि भारतबाट पनि पर्यटकहरू नेपालका पहाडी जिल्लामा आउने क्रम बढेको छ । यसरी आएका पर्यटकले असावधानीका कारण डुबेर ज्यान गुमाउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । पछिल्लो साता मात्रै दुई नेपाली र तीन जना भारतीय नागरिकको डुबेर मृत्यु थियो । गर्मी छल्न धमिलो पानीमासमेत खोलामा पस्दा थप जोखिम बढेको पछिल्ला कतिपय घटनाक्रमले देखाएको छ ।
पाल्पाको दोभान क्षेत्र, बाँधस्थलको तिनाउ खोलामा रुपन्देही, कपिलवस्तु, नवलपरासीका साथै भारतका विभिन्न ठाउँबाट पौडी खेल्न आउने गर्छन् । बुटवलदेखि नजिकैको दूरीमा सिद्धबाबा बाँधदेखि दोभान, झुम्साखोला आसपासको क्षेत्रमा गर्मी छल्न पौडी खेल्न आउने गर्छन् । तिनाउ गाउँपालिका–३ का वडा सदस्य टंक बस्यालका अनुसार पटकपटक अप्ठ्यारो स्थानमा पौडी खेल्न नजान आग्रह गरेपनि सोही स्थानमै पुग्ने र डुबेर मृत्यु हुने क्रम बढेको छ । ‘तराईमा गर्मी बढेपछि चिसो पानी र अग्ला पहाडको बीचमा रहेका स–साना ताल तथा बुटवल जलविद्युत्को ड्यामसाइड पौडनेहरूको केन्द्र बनेको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्ने भन्ने नै छ तर के कारणले हो खै हुन सकेको छैन । तर पनि सकेको प्रयास गर्दागर्दै घटना घटिरहेका छन् ।’
चर्को गर्मी छल्न तराईका विभिन्न स्थानका साथै भारतको सुनौली, नौतनहवा, गोरखपुरबाट सयौं किशोरकिशोरी समूहगत रूपमा आएको देखिने उनले बताए । उनीहरू चिसो पानीमा पौडी खेल्न तिनाउ नदीमा जाने गरेका हुन्छन् । खोलाको खोँचका रह र पोखरीको गहिराइ आकलन नगरी पौडी खेल्दा हरेक वर्ष डुबेर ज्यान गुमाउने गरेका छन् । पछिल्लो समय भारतका विभिन्न सहरबाट आएका युवा पौडी खेल्ने क्रममा यसैगरी डुब्ने गरेका छन् ।
तिनाउ खोलामा रहेको लामीदमार बाँधस्थल, रिभर साइडलगायतका पौडी स्थानहरूमा सचेत गराउनुपर्ने सुझाव प्रहरी नायब उपरीक्षक मल्लले बताए । गेटमा ताला लगाएको छ । कतिपय स्थानमा तारजाली पनि लगाएको छ । सबै ठाउँमा प्रहरी बस्न सक्दैन, यसरी समूहमा आउनेहरू त्यो सूचनालाई नहेरी खोलामा पस्दा यस्ता घटना दोहोरिएको उनले बताए । तिनाउ खोला तथा कतिपय गहिरा पोखरीहरूमा जानबाट रोक्नका लागि केही ठाउँमा तारबार र चाबी लगाएर राख्दासमेत पौडी खेल्ने क्रममा डुब्ने क्रम नरोकिएको उनले बताए ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तराईको गर्मी छल्न पौडी खेल्न जाने युवा डुब्ने क्रम नरोकिएकाले यसमा सरोकारवाला निकाय बसेर छलफल गरी अघि बढ्ने बताए । हरेक वर्ष किशोरहरू डुब्न थालेपछि भूतखोलामा जान गत वर्षदेखि बन्द छ । अघिल्लो र यस वर्ष तिनाउ खोला चुनौती बनेको उनले बताए । लुम्बिनी प्रदेश सरकारले पर्यटकीय स्थलको रूपमा विकास गरिरहेका खोला, पोखरी, झरना र तालहरूलाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने सबाल महत्त्वपूर्ण रहेको उनले बताए ।
गाउँपालिकाले भूतखोलासँगै बाँध क्षेत्रमा जान रोके पनि प्रदेश सरकारले बाँधस्थललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिरहेकाले रोक्न नसकिएको उनको भनाइ छ । सिद्धबाबादेखि बाँधस्थलसम्म ट्रयाक बनेको छ । झोलुङ्गे पुलमा लगानी थपिएको छ । तर मान्छे मर्न नरोकिँदा समस्या थपिएको उनले बताए । एक दुई दिनमै ठाउँठाउँमा बोर्ड पनि राख्न लगाउने उनले बताए । यसको व्यवस्थापनका लागि स्थानीय सामुदायिक वन, सिद्धबाबा मन्दिर, गाउँपालिका र सुरक्षा निकाय बसेर छलफल गर्नुपर्ने तिनाउ वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए । उनले पर्यटकीय क्षेत्रमा प्रवेशमा रोक लगाउन नहुने तर व्यवस्थित गर्नुपर्ने बताए ।
बुटवल पावर कम्पनीको बाँधस्थल करिब ३५ देखि ४० फिट गहिरो भए पनि अहिले भने यो पुरिँदै गएको छ । यहाँ गहिरोभन्दा पनि बाँधमुनि पानीले खोतलेर बनाएको सुरुङ र रडहरूमा ठोक्किएर मानिसको मृत्यु हुने गरेको हुनसक्ने बताइएको छ । राम्ररी पौडी खेल्न नजानेहरू टाउकोमा चोट लागेर बेहोस हुने र निसास्सिएर मृत्यु हुने गरेको हुन सक्ने स्थानीयले बताए । पावर कम्पनीले पहिले यो मर्मत गर्ने गरेको भए पनि पछिल्लो समयमा खासै चासो नदेखाएकाले दुर्घटना बढेको छ । प्रशासनले रोक्नेभन्दा पनि जोखिमबारे सूचना बोर्ड राख्ने, स्थानीय प्रहरी प्रशासनले कडाइ गर्नुपर्ने गुरुङले बताए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरोकारवाला निकाय सबै बसेर दुर्घटना हुन नदिने विषयमा छलफल गरिने बताए ।






















