
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि नेकपा माओवादी केन्द्रले उनी राजीनामा नदिएसम्म संसद अवरुद्ध गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिन प्रक्रियामा सहजता ल्याउन पदत्याग गर्नुपर्ने निष्कर्ष निकालेको हो। पार्टीका सचिव लिलामणि पोखरेलका अनुसार, राजीनामा नआएसम्म संसद सञ्चालनमा अवरोध जारी राखिनेछ।
यसअघि पनि माओवादी केन्द्रसहितका विपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आएका थिए। यद्यपि, जेठ १५ गते बजेट प्रस्तुतिमा बाधा नहोस् भनेर एकदिने अवरोध हटाइएको थियो।बैठकमा मध्यपहाडी जागरण अभियानलाई निरन्तरता दिने, वाइसीएलको महाधिवेशनबारे तयारी गर्ने र हालै नेपाल समाजवादी पार्टीसँग भएको एकतापछि नेतृत्व र कार्यकर्ता समायोजनबारे समेत छलफल गरिएको जनाइएको छ।