प्रहरीले धरपकड सुरु गरेपछि राजावादीहरू त्रसित बनेका छन् । पक्राउ पर्ने डरले कतिपय नेताहरू मोबाइल फोन बन्द गरेर बसेका छन् । यस्तै सोमबारदेखि स्थानीय प्रशासनले काठमाडौँ महानगर क्षेत्र लक्षित विरोधका कार्यक्रम गर्न रोक लगाएको छ ।
बिहीबारदेखि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले अनिश्चितकालीन आन्दोलन सुरु गरेको थियो । तर, पाँचौ दिन आइपुग्दा यो समाचार तयार पार्दासम्म सोमबार राजधानीमा कुनै विरोध प्रदर्शनका कार्यक्रम छैन ।
आन्दोलन समिति मातहतको निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्य पक्षबाट धरपकड सुरु भएको बताउँदै अब कसरी अघि बढ्ने भन्नेबारे समितिको बैठक बसिरहेको बताइन् ।
समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा राजधानीमा बैठक बसिरहेको हो । बैठकले अबका दिनमा गरिने आन्दोलनका कार्यक्रम तय गर्ने भण्डारीको भनाइ छ । संयुक्त जनआन्दोलन समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजवादी र हिन्दुवादी संघ संगठनको सहभागिता रहेको छ ।
आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ भित्रका मुख्य सार्वजनिक स्थानहरूमा धर्ना, अनशन, जुलुस, सभा तथा विरोधका कार्यक्रमहरू गर्न नपाइने गरी निषेध गरेको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको निषेधाज्ञा आदेशमा सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि बालकुमारीसम्मको क्षेत्र तथा बल्खु क्षेत्रमाबाहेक अन्यत्र प्रतिबन्ध लागु हुने उल्लेख गरिएको छ।
चक्रपथ भित्रका स्थानहरूमा विरोध कार्यक्रम गर्दा सार्वजनिक सेवा र यातायातमा अवरोध पुगेको जनगुनासोका आधारमा सो निर्णय गरिएको प्रशासनको भनाइ छ ।
प्रशासनले अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न सक्ने सम्भावनालाई आधार बनाउँदै निर्णय लिएको स्पष्ट पारेको छ। साथै, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हुने विरोध कार्यक्रम भने गर्न पाइने व्यवस्था गरिएको छ। प्रशासनले यस्तो निषेधाज्ञाको अवधि प्रारम्भमा २ महिनासम्म कायम रहने पनि स्पष्ट पारेको छ ।
प्रशासनको यस्तो आदेशअघि राजावादीले दिउँसो नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत पक्राउ परेका थिए । तर राति उनी छुटेका थिए । सरकारले राजावादीलाई धरपकड गर्ने नीति लिएको जस्तो पछिल्लो घटनाक्रमबाट देखिन्छ । त्यसबाट राजावादी त्रसित हुँदै नयाँ रणनीति बनाउन जुटेको बताइएको छ ।






















