
पूर्वसभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वोच्चले उत्प्रेषण आदेश जारी गरेको छ ।
संवैधानिक इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमायाको पक्षमा उत्प्रेषणयुक्त आदेश दिएको हो ।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, कनकमणि दिक्षित र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए । २ रिट भने भने खारेज भएका छन् । पटकपटक पेशीमा चढे पनि यसको निर्णय सुनुवाइ भने अन्तिममा टर्ने गरेको थियो ।
माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ असार ६ गते मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।
लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।
त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।