
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्ने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकार भएकाले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्ने बताएका हुन्।
थापाले सरकारलाई थप प्रभावकारी बनाउने विषयमा कांग्रेसको केन्द्रीय समितिको बैठकबाटै निर्णय गरिने पनि जानकारी दिए। उनले भने, ुसरकारले प्रभावकारी काम गर्न नसकेको भन्ने लागेका कारण सरकारका कामलाई थप प्रभावकारी बनाउने विषयमा केही दिनपछि बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकबाटै निर्णय गर्ने तयारी गरेका छौं।’
थापाले आफूले १५ औं महाधिवेशनका लागि वातावरण बनाउने विषयमा नेताहरूसँग संवाद गरिरहेको दाबी गरेका छन्। केही दिन पहिले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासँग पनि भेट गरेर महाधिवेशनकै विषयमा छलफल गरेको बताए।
उनले पार्टीको १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंगो लगाउनुपर्ने भए पनि अहिलेसम्म एउटा निर्वाचन क्षेत्रबाहेक कतै पनि क्रियाशील सदस्यता टुंगो नलागेको जानकारी दिए।
गृहमन्त्री रमेश लेखको विषयमा प्रतिपक्षहरूले उठाएको माग उचित नभएको उनको धारणा छ। भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि छानबिन हुँदा गृहमन्त्रीले राजीनमा दिनु नपर्ने उनले स्पष्ट पारे। छानबिन हुँदै गर्दा नेतृत्व पनि जोडिएको देखि त्यतिबेला त्यही अनुसार अघि बढ्नुपर्ने थापाको भनाइ छ।